Logo

५२ लाख सेयर लगानीकर्ता किन आन्दोलित छन् ?



काठमाडौं, २८ जेठ । नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले पुँजी बजारमा झन्डै १९ खर्बभन्दा बढी नोक्सानी भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पौडेलले भने, “आठ महिनादेखि पुँजी बजार निरन्तर रुपमा घटिरहेको छ । यसबाट १९ खर्बभन्दा बढी नोक्सानी भएको छ । धेरै लगानीकर्तालाई सडकमा छन् । हामी पुँजी बजारको समस्या समाधानका लागि नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्रबैंक, अर्थ मन्त्रालयमा गयौं । तर पुँजीबजारको विकास र विस्तारमा सरकार गम्भीर भएन । लगानीकर्तालाई मात्र होइन, सरकारलाई पनि धेरै ठूलो नोक्सानी भयो । ७ अर्ब बराबरको राजस्व पाउनेमा १ अर्ब मात्र पाएको छ ।”
५२ लाख लगानीकर्ताको समस्या समाधानमा सरकार गम्भीर नभएकाले सडकमा आन्दोलित हुनु परेको पनि पौडेलले बताए । उनले भने, “५२ लाख डिम्याट होल्डरहरु छन् । पुँजी बजार लगानीको क्षेत्र हो र आर्थिक क्षेत्र चलायमान बनाउँछ भन्ने सरकारले बुझेन । लगानीकर्ताले त व्यवसाय गर्ने हो, सरकारलाई कर तिर्ने हो । तर सरकारले आफ्ना वाचा कार्यान्वयनमा तदारुकता देखाएन । त्यसैले सडकबाट चिच्याउनु परिरहेको छ ।”
सरकारी नीतिमा स्थिरता नभएकाले पनि पुँजीबजार ओरालो लागेको पौडेलका टिप्पणी छ । उनले भने, “अहिले आर्थिक मन्दी छ । बैंकमा तरलता छैन । सरकारको नीतिमा स्थिरता छैन । सेयरबजारमा १२ करोडमात्र लगानी गर्न पाउने नीतिका कारण ठूला लगानीकर्ता संकुचित हुनुपरेको छ । सेयर धितो कर्जा रोकिएको छ । बैंक तथा वित्तीय संस्थाको मर्जर वा एक्विविजिसनका नाममा सेयर कारोबार रोकेर बन्धक बनाएको छ । यस्ता समस्यामा सरकार कहिले गम्भीर हुने ?”

 



प्रतिक्रिया दिनुहोस्