Logo

मिटरब्याजीको पासोमा निमुखा



काठमाडौं, जेठ २८ । सप्तरीका दर्जनौं परिवारको उठिबास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी रामदेव साहु तेलीविरुद्ध पीडितले उजुरी दिएपछि उनी परिवारसहित फरार भए। रामदेवका छोरा नन्दकिशोर साहलाई भने प्रहरीले बिहीबार राति पक्राउ गरेको छ।

उनलाई शुक्रबार जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अभिनारायण काफ्लेले बताए। रामदेवसहित प्रतिवादी खोज्न बिहीबार सप्तरी प्रहरीको विशेष टोली धरान उपमहानगर–१९ स्थित रामदेवको घर पुगेको थियो। तर घरमा कोही भेटिएनन्।

खोज्दै गर्दा रामदेवका छोरा नन्दकिशोर पक्राउ परेको एसपी काफ्लेले बताए। रामदेवसहित परिवारका अन्य सदस्य फरार छन्। उनीहरूको खोजीमा प्रहरीको विशेष टोली खटिएको छ। पीडितले ठगी तथा आपराधिक विश्वासघात शीर्षकमा रामदेवसँगै पत्नी शिवकुमारी, छोरा नन्दकिशोर, नाति चन्दनकुमारसहितका सदस्यविरुद्ध इलाका प्रहरी कार्यालय कल्याणपुरमा जाहेरी दर्ता गराएका छन्।

जाहेरी दर्ता गराए पनि कुनै सुनुवाइ नभएपछि वैशाख दोस्रो साता नौ पीडितले धरान उपमहानगर–१९ स्थित रामदेवको घरसम्मै पुगेर गुहार गरे। चर्को ब्याजमा ऋण लिएर चुक्ता गरिसके पनि साहु रामदेवबाट जग्गा फिर्ता नपाएको भन्दै पीडितले धरान उपमहानगरपालिका र १९ नम्बर वडा कार्यालयमा निवेदन दिए।

निवेदनमार्फत पीडितले सप्तरीको खगड नगरपालिका–७ कल्याणपुर घर भई दुई वर्षदेखि धरान उपमहानगरपालिका–१९ बस्दै आएका रामदेवलाई झिकाएर आफूहरूको जग्गा फिर्ता गराउन माग गरे। प्रहरी, प्रशासन र अदालतबाट पनि न्याय पाउन ढिलाइ भइरहेको भन्दै पीडितले धरान पुगेर जनप्रतिनिधिसँग गुहार मागे।

पीडितले धरान उपमहानगरका मेयर हर्कराज राई ९साम्पाङ० लाई भेटेर आफ्ना पीडा सुनाउँदै कारबाहीका लागि लिखित निवेदन दिएका थिए। पीडितले जग्गा फिर्ता गर्न दबाब दिन थालेपछि रामदेव सप्तरीको कल्याणपुरस्थित पुख्र्यौली घर छोडेर दुई वर्षदेखि धरान उपमहानगर–१९ धनकुटे रोडमा घर किनेर सपरिवार बस्दै आएका छन्।

‘प्रहरी प्रशासन, अदालत सबैतिर गुहार माग्यौं तर कतैबाट न्याय पाएनौं,’ बोदेबर्साइन नगरपालिका–७ का पीडित तैयब अलीले भने, ‘दुई वर्षदेखि गुहार माग्दा कसैले सुनेनन्। अन्त्यमा मिडिया गुहार्न बाध्य भयौं। अहिले प्रहरी प्रशासनले सक्रियता बढाउँदा रामदेवका छोरा पक्रउ परेका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्