Logo

नेपाल स्यानिटरी प्याड उत्पादक संघले गुहार्यो प्रधानमन्त्री देउवा (ज्ञापनपत्रसहित)



काठमाडौं, २८ जेठ । नेपाल स्यानिटरी प्याड उत्पादक संघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्वदेशी उद्योगलाई धराशयी हुनबाट बचाउनको लागि उचित कदम चाल्न आग्रह गरेको छ । आज (शनिबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगी पदाधिकारीले प्रधानमन्त्री देउवासमक्ष यस्तो आग्रह गरेका छन् ।

भर्खरै सार्वजनिक भएको बजेटमार्फत विदेशबाट आयात हुने स्यानिटरी प्याडमा भारी मात्रामा छुट दिने घोषणा गरिएपछि स्वदेशी उत्पादन उद्योगहरु धराशयी बन्ने खतरा बढेको छ । उनीहरुले आफूहरुको लगानीको पनि जोखिम बढेको भन्दै तत्काल सरकारले आफ्नो निर्णयमा पूनरावलोकन गरोस भन्ने संघको चाहना छ ।

स्वदेशी स्यानिटरी प्याड उद्योगको अरबौं लगानी डुब्न नदिन र सरकार स्वदेशी उद्योगको संरक्षणमा प्रतिबद्ध रहेको सन्देश प्रवाह गर्न साविककै व्यवस्था कायम गर्नेतर्फ पहल गरिदिन पनि उनीहरुले प्रधानमन्त्री देउवासमक्ष अनुरोध गरेका छन् । संघका अध्यक्ष डोलराज अधिकारी र पदाधिकारी सूर्य बहादुर थापाको नेतृत्वमा गएको टोलीले आज अपरान्ह प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेको हो ।

प्रधानमन्त्री देउवासमक्ष उनीहरुले बुझाएको ज्ञापनपत्रमा भनिएको छ–‘सरकारले तीन वर्षअघिको बजेटमार्फत सामूदायिक विद्यालयहरुमा निःशुल्क स्यानटरी प्याड वितरण गर्ने नीति लिएपछि यस उद्योगमा लगानी गर्न स्वदेशी लगानीकर्ता उत्साहित भएका थिए । गत वर्षको बजेटमार्फत स्यानिटरी प्याड उत्पादन गर्ने नयाँ उद्योगलाई ५ वर्षसम्म आयकर छुट दिने घोषणा भयो । यी दुवै कदमले लगानीकर्तामाँझ सकारात्मक सन्देश प्रवाह गरेको थियो । सरकारले लगानीकर्तामाँझ उत्साहजनक र सकारात्मक सन्देश प्रवाह गरेको एक वर्ष पनि बित्न नपाउँदै स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई गम्भीर धक्का लाग्ने किसिमको निर्णय गर्दा सरकारी नीतिहरु कहिल्यै स्थिर नहुने सन्देश प्रवाह हुन्छ । त्यसले त अल्पकाललाई मात्र नभएर दीर्घकालसम्म लगानीको वातावरण बिगार्ने काम गर्छ ।’

यसअघि संघले विभिन्न मुख्य दलका शीर्ष नेताहरु र सरकारी सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरुसँग पनि भेटवार्ता गरिसकेका छन् । उनीहरुले सरकारको पछिल्लो उक्त निर्णय सच्याउनको लागि पहलकदमी लिईदिने अनुनय गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्