Logo

त्याग, तपस्या र मेहनत गर्न कार्यकर्तालाई प्रचण्डको निर्देशन



पोखरा, जेठ २९ । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धनलाई आगामी प्रदेश र संघको निर्वाचनसम्म कायमै राखिने बताएका छन् । उनले माओवादी आफ्नो वर्ग, जनता र राष्ट्रप्रति समर्पित शक्ति होस् भन्ने जनताले चाहेको हुँदा सोहीअनुरुप काम गर्न समेत निर्देशन दिए ।

गएको वैशाख ३० को स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिको लागि शनिबार आयोजित प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले निर्वाचनमा पार्टीले प्रमुख जितेका पालिकालाई क्रान्तिकारी र भोलिका दिनमा समाजवादी सत्ताको भ्रुणरूपमा विकास गर्ने उद्देश्यमा स्पष्ट हुँदै अझ मेहनत गर्न सुझाव दिए । २०७४ सालको स्थानीय तह चुनावमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई आफ्नो तरिकाबाट चल्न दिइए पनि अब भने पार्टीको नीति, सिद्धान्त एवं जनअपेक्षाअनुरुप चल्न प्रशिक्षण दिइएको स्पष्ट पारे ।

यसपालिको चुनावमा आफ्नो पार्टीले दोस्रो स्थान हासिल गर्ने अनुमान गरिएकोमा प्रभावकारी गठबन्धन अभावमा सोचेजस्तो नतिजा आउन नसकेको उनले स्वीकारे । माओवादी प्रभाव भएका कतिपय जिल्लामा गठबन्धन सम्मिलित दलले तालमेल मर्मविपरीत एमालेसँग मिलेर माओवादीलाई नै पराजित गरेको भन्दै उनले असन्तुष्टी जाहेर गरे ।

जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र बरोबर भइरहेको दाबी गर्दै उनले संघीयता, गणतन्त्र र नेपालको संविधान रक्षाका लागि सधैं सचेत हुनुपर्ने बताए । विगतमा केपी ओलीले संसद नै विघटन गरेर उपलब्धि समाप्त पार्न खोेजेको आरोप लगाउँदै सबै उपलब्धि रक्षाको लागि आगामी चुनावमा समेत गठबन्धनको विकल्प नभएको औंल्याएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्