Logo

लाइसेन्स नपाउँदा निजीक्षेत्रको विद्युत् निर्यात योजना अन्योलमा



काठमाडौं, जेठ २९ । सरकारले लाइसेन्स दिन ढिला गरेपछि नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स) को भारतमा ५०० मेगावाट विद्युत् विक्री गर्ने योजना अन्योलमा परेको छ ।

नेपेक्सले भारतको मनिकरण पावर लिमिटेडलाई यही वर्षामा उक्त परिमाणमा बिजुली उपलब्ध गराउने गरी गत पुसमा काठमाडौंमा सम्पन्न पावर समिटमा द्विपक्षीय सम्झौता गरेको थियो । तर, सरकारले नेपेक्सलाई विद्युत् व्यापारको लाइसेन्स नदिँदा त्यो सम्झौता कार्यान्वयन हुनेमा अन्योल देखिएको हो ।

हाल सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले विद्युत् व्यापारको काम गर्दै आएको छ । प्रचलित ऐनमा निजीक्षेत्रले विद्युत् व्यापार गर्न पाउने व्यवस्था छैन । त्यो अवस्थामा सरकारले निजीक्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिने आश्वासन दिएपछि नेपेक्सले मनिकरणसँग सम्झौता गरेको थियो । तर, सरकारले अहिले आएर कानून अभाव भएको भन्दै निजीक्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिने प्रक्रिया रोकेको छ ।

वर्षायाममा प्राधिकरणको झन्डै १ हजार मेगावाट बिजुली बढी हुन्छ । त्यसमा प्राधिकरणले ३६४ मेगावाट भारतीय खुला बजारमा र २०० मेगावाट त्यहाँको व्यापार कम्पनीलाई विक्री गर्नेछ । त्यसपछिको बाँकी बिजुली नेपेक्सले प्राधिकरणसँग किनेर मनिकरणलाई विक्री गर्ने योजना बनाएको थियो । लाइसेन्स नपाएका कारण यसमा थप काम कारबाही गर्न नपाएको नेपेक्सले बताएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्