Logo

रेल सञ्चालनपछि जनकपुरमा भारतीय पर्यटकको ओइरो



जनकपुर, जेठ २९ । रेल सेवा सञ्चालन भएसँगै जनकपुरधाममा भारतीय पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण दुई वर्षदेखि सुनसानजस्तै बनेको धार्मिक पर्यटकीय नगरी जनकपुरधाममा रेल सञ्चालन भएपछि भारतीय पर्यटकको आगमन बढेको हो । यसबाट यस क्षेत्रको व्यापारसमेत बढेको छ ।

जानकी मन्दिर दर्शनका लागि आउने दर्शनार्थी पवित्र सरोवर गङ्गासागर र अन्य धार्मिक स्थलसम्म पुग्ने गरेका छन् । रेल सेवा सञ्चालन भएपछि यात्रुलाई सहज भएको छ । यात्रुको खर्च र समय बचत भएका कारण भारतीय पर्यटकको आगमन बढेको हो । रेलमार्ग हुँदै भारतको मधुवानी जिल्लाका ३५ जनाको टोलीसहित जयनगरबाट जनकपुरधाम घुम्न आएका राजाराम यादव भने, “रेल सञ्चालन भएपछि सजिलो भएको छ ।

आरामदायी यात्रा हुन्छ, पैसा र समयको बचत हुन्छ । बिहान आएर बेलुका फर्किन पनि सकिन्छ ।”यस्तै सोही दिन ८० जनाको समूहमा आएकी राधिका देवीले खुसी हुँदै भनिन्, “बसमा आउँदा गाह्रो हुन्थ्यो, अहिले थोरै समय र पैसा पनि कम लाग्ने हुँदा रेलले सजिलो बनाएको छ ।”

हाल दैनिकजसो भारतीय तीर्थयात्रीको जनकपुरमा ओइरो लागेको छ । असार ९ गते ५०–६० जना भारतीय पर्यटकको टोली पनि जनकपुरधाम आउन तयारीमा रहेको रेलवे विभागका इन्जिनियर रवीन्द्र साहले बताए । उक्त भारतीय समूह रामायण सर्किटसँग जोडिएका स्थल भ्रमणका लागि जनकपुरधाम आउन लागेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्