Logo

एक व्यक्ति दुई कार्यालयका प्रमुख



काठमाडौं, जेठ २९ । एकै व्यक्ति दुईवटा छुट्टा–छुट्टै जिल्लाको कार्यालय प्रमुख हुँदा दुवै जिल्लाका सेवाग्राही मर्कामा परेका छन् । हुलाकी राजमार्ग आयोजना कार्यालय पर्सा र सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटको प्रमुख भई जिम्मेवारी सम्हाल्दै आएका सिनियर डिभिजन इन्जिनियर (सीडीई) दारोगा प्रसादको निष्क्रियताले सेवाग्राही मर्कामा परेका हुन् ।

उक्त दुवै कार्यालयको दुरी करिब ७० किलोमिटर छ । हुलाकी राजमार्ग आयोजना कार्यालयको काम लिएर सेवाग्राही त्यहाँ पुग्दा उहाँ भेटिनुहुन्न । यसैगरी डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरसँग सम्बन्धित काम लिएर सेवाग्राही पुग्दा त्यहाँ पनि उनको उपस्थिति नहुने गरेको भन्दै सीडीई दारोगाको आलोचना भएको छ ।

कुनै एक कार्यालयको कार्यभार सम्हालेका सरकारी कर्मचारीले दुईवटा कार्यालयको कार्यभारको जिम्मा पाए पनि दुवै कार्यालयबाट सेवा सुविधा भने लिन नपाइने नेपाल सरकारको प्रावधान छ । दुवै कार्यालयबाट सेवा सुविधा लिँदै आएको भन्ने विषयमा उनले आफू दुवै कार्यालयको प्रमुख भए पनि तलब भत्ता भने डिभिजन सडक कार्यालयबाट पाउने गरेको बताए ।

“कार्यालयको कामले बाहिर जानुपर्ने अवस्थामा भने जुन कार्यालयको काम लिएर गइन्छ सोही कार्यालयबाट भत्ता पाउने गरेको छु”, उहाँले भने । सीडीई दारोगा बिदामा बसेमा वा बिरामी पर्नुभएमा दुईवटै कार्यालयको काम अलपत्र पर्ने गरेको सेवाग्राहीको गुनासो छ ।

चालु आर्थिक वर्षको अन्त्यमा आइपुग्दा दुवै जिल्लाका दर्जनौँ महत्वपूर्ण विकास निर्माण परियोजना अलपत्र पर्न सक्ने देखिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्