Logo

दलहरूले बालेन साहको मनोबल गिराएर राजीनामा गराउन चाहेका थिएः डा. सुन्दरमणि दीक्षित



काठमाडौं, २९ जेठ । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले राजधानीको फोहोरमैला व्यवस्थापन सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको भन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको अग्रसरतामा भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. दीक्षितले भने, “काठमाडौंको फोहोरमैलामा कति राजनीति हुन्छ भन्ने देखिसकियो । एकतिर जनता र बालेन साह छन्, अर्कातिर राजनीतिक दलहरु छन् । दलहरुले मनोबल गिराएर बालेनलाई राजीनामा गराउन खोजेका थिए । तर हावा अन्तैतिर बगेको छ । नेताहरुले आश्वासन मात्र दिए । अहिलेको समाधान निकाल्ने व्यक्ति रामकुमारी झाँक्री हुँदै होइनन्, बिलकुलै बालेनको काम हो ।”
काठमाडौं र धरानको मत परिणामले राजनीतिक दलहरु तर्सिएको डा. दीक्षितले औंल्याए । उनले भने, “काठमाडौं र धरानलाई मात्र हेर्यो भने जनता कति आक्रोशित भएका रहेछन् भन्ने थाहा हुछ । दलले हामीलाई आश्वासन दिए, अनि धोका दिए । जनताले नो भोट र राइट टु रिकल गर्न पाएनन् । अनि स्वतन्त्रलाई भोट दिए । काठमाडौंमा कांग्रेस र एमाले मत जोड्दा बालेनको ८ हजार मात्र कम हुन्छ । त्यही भएर शेरबहादुर देउवा माओवादीसँग टाँस्सिएको टाँस्यै छन् । उनलाई डडेलधुरामा कम्युनिस्टहरु मिलेर हराउँछन् भन्ने डर छ ।”
आगामी संघ र प्रदेशको चुनावमा पनि स्वतन्त्रहरु आउने उनको ठोकुवा छ । डा दीक्षितले भने, “बालेन र हर्क साम्पाङले जनताको आँखा खोलिदिएका छन् । दलहरुमा विश्वासै रहेन । स्वतन्त्रले संसदमा अपोजिसनको रोल खेल्न सक्छन् । स्वतन्त्र १५, २० जनाले मात्र जिते भने पनि संसदमा जनताको आवाज पुर्याइदिन्छन् । अब आउने चुनावमा स्वतन्त्रको चान्स छ ।” उनले आफू ८१ वर्ष भइसकेकाले स्वतन्त्र उम्मेदवार नबन्ने पनि प्रस्ट पारे ।
प्रदेश सरकारको औचित्य सकिएको पनि डा. दीक्षितले बताए । उनले भने, “प्रदेश सरकार हिलेपानी भैसक्यो । देशले सेतो हात्ती पाल्न सक्छ कि सक्दैन ? उही सांसद किनबेच, उही मन्त्रालय विभाजन ।” साथै उनले स्वतन्त्रको विजयले दलहरुलाई चेतावनी र खबरदारी भएकाले अब प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति निर्वाचन आवश्यकता पनि औंल्याए ।



प्रतिक्रिया दिनुहोस्