Logo

बुढीगंगा नगरपालिकामा न मतगणना न निर्वाचन



काठमाडौं, जेठ २९ । बुढीगंगा नगरपालिकामा मतदान हुने कि मतगणना हुने भन्ने अन्योल कायमै छ। गत वैशाख ३० गते सम्पन्न निर्वाचन रद्द गर्न निर्वाचन आयोगको विवादित निर्णयसँगै सिंगो पालिकामा चुनावी अन्योल छाएको हो।

निर्वाचन आयोगले बुढीगंगा नगरपालिकामा पुनः मतदानको निर्णय गरेको छ। पाँचजना आयुक्तमध्ये तीनजनाको बहुमत संख्याका आधारमा गरिएको निर्णय आयोगभित्रै विवादित छ। ७५३ मध्ये ७५२ पालिकामा निर्वाचन परिणाम आइसकेको छ। तर बुढीगंगा नगरपालिकामा अनिश्चित बनेको अवस्था छ।

नेकपा एमाले र एमालेका उम्मेदवार विधि प्रक्रिया र पद्धति पूरा गरेर सम्पन्न निर्वाचनलाई रद्द गर्न नमिल्ने र मतगणना हुनुपर्ने अडानमा छन्। नेपाली कांग्रेसका उम्मेदवारले धाँधली भएको मतदानलाई स्वीकार गर्न नसकिने दाबी गरिरहेका छन्।

निर्वाचन आयोगले स्थलगत अध्ययनका लागि पठाएको आयुक्त सगुन समशेर जबराको टोलीको प्रतिवेदनविपरीत निर्णय गरेको छ। टोलीले प्रक्रिया पूरा भएको निर्वाचन रद्द गर्न नपाइने र गणना हुनुपर्ने सिफारिस गरेको भए पनि निर्णय जबर्जस्त सरकारको दबाबमा गर्न लगाइएको आरोप एमालेको छ।

नेकपा एमालेका उम्मेदवारले गणनाको मागसहित उच्च अदालत दिपायल र सर्वोच्च अदालत काठमाडौंमा उजुरी हालेका छन्। अदालतले कुनै आदेश जारी गरेको छैन। निर्वाचन गर्ने निर्णय गरेको आयोगले पनि मिति तोक्ने हिम्मत गरेको छैन। एमालेले अदालतको आदेश कुरे पनि गणनाको माग गरिरहेको छ।

शुक्रबार मार्तडीमा बसेको बैठक मंगलबार फेरि बस्ने गरी टुंगिएको प्रमुख जिल्ला अधिकारी प्रकाशराज अधिकारीले बताएका छन्। बाजुरामा चुनावकै विषयलाई लिएर प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख फेरिएका छन्।

बुढीगंगाका १० वटा वडामध्ये ६ वटामा विवाद छ। १, ६, ८ र १० मा निर्वाचन शान्तिपूर्वक भएकोमा दुवै पक्ष सहमत छन्। बाँकी २, ३, ५ र ९ मा एमाले र ४ र ७ मा कांग्रेसले कब्जा गरेर धाँधलीका साथ चुनाव गरिएको दुवै दलले एकअर्कालाई आरोप–प्रत्यारोप लगाइरहेका छन्। चुनावमा एमालेबाट रामबहादुर बानियाँ र माया कुँवर, कांग्रेसबाट रंगबहादुर खाती र रीता शाही उम्मेदवार छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्