Logo

काठमाडौंमा अमेरिकी सेना उतार्न लागिँदै छः डा. भीम रावल



काठमाडौं, २९ जेठ । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम रावलले एमसीसीमा हिन्द प्रशान्त रणनीतिक सैन्य गठबन्धन जोडिएको कुरा पुष्टि हुन लागेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता डा.रावलले भने, “पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति विपरीत एमसीसी अनुमोदन गरिएपछि मुलुक शक्तिकेन्द्रहरुको सामरिक द्वन्द्वमा धकेल्ने काम प्रधानमन्त्री शेरबहादुर देउवाजीबाट भएको छ । अमेरिकी मन्त्री नेपाल आएर तिब्बती शरणार्थी शिविर जानु, अहिले शेरबहादुरजी र प्रधानसेनापति अमेरिका जान लाग्नुमा त्यसको कहीं न कहीं सम्बन्ध छ । शेरबहादुरजी भित्रभित्रै अमेरिकी हिन्द प्रशान्त रणनीति अन्तर्गत काम गर्दै हुनुहुन्छ । नेपालको स्वाधीनतामाथि बन्चरो चलाउँदै हुनुहुन्छ ।”
उनले नेपालमा अमेरिकी लडाकु जहाजहरु आइरहेको पनि खुलासा गरे । डा. रावलले भने, “अमेरिकी सेनाका लडाकु जहाज आएर यहाँ गोप्य रुपमा के के गरे ? तपाईं खोज्नुस् न धमलाजी । अमेरिकाको उटाह राज्यबाट राज्य साझेदारी कार्यक्रम अन्तर्गत प्रतिरक्षक सेना यहाँ आउन लागेको छ । प्रधानसेनापति गएर केमा सम्झौता गर्दै हुनुहुुन्छ ? यसबारे मैले संसदमा भनिसकेको छु । त्यो भने अमेरिकी सेना नेपालमा उतार्ने तयारी हो । नेपालको संविधानको आघात पार्ने कुरा छ ।”
एमसीसी अनुमोदनपछि अमेरिकी अनुदान बढ्यो भन्नु कुप्रचार भएको उनले दोहोर्याए । अमेरिकाले नियमित दिँदै आएको सहयोग ५ वर्षको जोडेर भ्रम फैलाइएको उनको आरोप छ ।
मुलुकलाई शेरबहादुर देउवाले बपौतीजस्तो ठानेको पनि डा. रावलको दाबी छ । उनले भने, “२०५२ मा उहाँ प्रधानमन्त्री हुँदा देशलाई द्वन्द्व जानुभयो । महाकाली सन्धिमा राष्ट्रघात गर्नुभयो । अर्को पटक प्रधानमन्त्री हुँदा दलीय व्यवस्था नै रहेन । अहिले प्रधानमत्री हुँदा पश्चिम सेती बिना प्रतिस्पर्धा भारतलाई सुम्पिनुभयो । प्रबुद्ध समूहको प्रतिवेदन के भयो ? उहाँ लिपुलेक, कालापानी, लिम्पियाधुराको किन चर्चा गर्नुहुन्न ? यो देश शेरबहादुरको बपौती हो र ?”



प्रतिक्रिया दिनुहोस्