Logo

देउवा ७ पटक प्रधानमन्त्री बने नेपाल के हुन्छ भन्ने आशंका गर्नुपर्ने स्थिति बन्योः भीम रावल



काठमाडौं, २९ जेठ । नेकपा एमालेका नेता डा. भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवा पाचौं पटक प्रधानमन्त्री बन्दा देशको स्वाधीनता र राष्ट्रियतामाथि नै आँच पुगिरहेको टिप्पणी गर्दै सातौं पटक प्रधानमन्त्री बन्दा देश नै के हुन्छ भन्ने आशंका गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधिसभामा बोल्दै रावलले देउवा प्रधानमन्त्री बन्दा देशमा जहिले पनि राष्ट्रिय हित र स्वाधीनतामाथि आँच पुग्ने गतिविधि भएको आरोप लगाए ।

देउवा आफैले ज्योतिषले ७ पटक प्रधानमन्त्री बन्छु भनेको विषय स्मरण गराउँदै रावलले आज सदनमा कडा टिप्पणी गरेका हुन् । उनले देउवामाथि कुनै देशको सामरिक गठबन्धनमा संलग्न गराएको आरोप लगाए ।

देउवा २०५२ मा देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा महाकाली सम्झौता भएको र देश माओवादी द्वन्द्वमा पुगेको, अर्कोपटक प्रधानमन्त्री हुँदा प्रतिगमन भएको भन्दै पछिल्लो समय शक्ति राष्ट्रसँग सामरिकलगायतका सम्झौता गर्न थालेको बताए । उनले भने,‘देशको संविधान मिच्दै सामरिक स्वाधीनता र स्वतन्त्रता नै खतरामा पारिदैछ ।’

रावलले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण र प्रधानसेनापति प्रभुराम शर्माको असारमा हुने भ्रमणबारे सदनलाई जानकारी दिनुपर्ने माग गरे । उनले अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकाको रक्षा मन्त्रालयमा गएर देउवाको भ्रमणबारे कुरा गरेकोबारे जानकारी मागे ।

अमेरिकी स्टेट पार्टनरशिपमा नेपाललाई सहभागी गराउन देउवा दम्पत्ति नै लागेको रावलको आरोप थियो । उनले अमेरिकी उपसहायकमन्त्री उज्रा जीयाले तिब्बती शरणार्थीलाई भेट्ने विषयमा आरजु देउवाको समेत भूमिका रहेको विषय उठाए । उनले भने,‘उज्रा जीयाले तिब्बती शरणार्थीलाई भेट्नुमा प्रधानमन्त्री र उहाँकी पत्नीको भूमिका छ भन्ने विषय के हो ?’

अमेरिकी अधिकारीहरु डोनाल्ड डु, उज्रा जीया, मिखाइल जे टर्लीलगायतको भ्रमणहरु उल्लेख गर्दै सामरिक शक्तिहरुको बढ्दो सक्रियताबारे प्रश्न गरे । अमेरिकी जर्नेल ए फ्लिनको भ्रमणको उद्देश्यबारे पनि सदनमा जानकारी मागे ।



प्रतिक्रिया दिनुहोस्