Logo

न्यायाधीश नियुक्तिमा मापदण्ड तयार हुँदै



काठमाडौं, जेठ ३० । न्यायाधीश नियुक्तिका लागि मापदण्डको मस्यौदा तयार गरेर सोमाथि सर्वोच्चको फुलकोर्ट बैठकमा छलफल भएको छ । मापदण्ड बनाएर न्यायाधीश नियुक्ति गर्दा राजनीतिक दलनिकटका कानुन व्यवसायी, मन्त्रीका आफन्त र प्रधानन्यायाधीशसँग निकटलाई न्यायाधीश बनाउने गरी गृहकार्य भइरहेको स्रोतले बतायो ।

न्यायाधीश नियुक्तिमा राजनीतिक प्रभाव पर्न नदिन भन्दै मापदण्ड बनाउने विषयमा फुलकोर्ट बैठकले एउटा निष्कर्ष निकाल्दै छ । तर, सो मापदण्ड कार्यान्वयन हुनेमा आशंका देखिएको छ । सर्वोच्च अदालत अभिलेख अदालत भएकाले यहाँ नियुक्ति गर्दा चरणबद्ध छलफलपछि निर्णयमा पुग्नेगरी मापदण्ड बनाउनुपर्ने न्यायाधीशहरूको माग छ ।

विगतका भएको न्यायाधीश नियुक्ति प्रक्रियाको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने र उच्च अदालतमा क्षमतावान् न्यायाधीश नियुक्ति गर्नुपर्ने विषय उठेका छन् । क्षमतावान् न्यायाधीश नियुक्ति गर्दा मुद्दाको चाप पनि घटाउन सहयोग पुग्ने सुझाव सर्वोच्च अदालतका न्यायाधीशहरूले फुलकोर्ट बैठकमा दिएका छन् ।

कनिष्ठ, योग्य नभएका र क्षमताले पनि अब्बल नभएका व्यक्तिलाई उच्च अदालतको न्यायाधीश बनाउँदा विगतमा न्यायालयको गरिमामाथि नै प्रश्न उठेको भन्दै अधिकांश न्यायाधीशले अब त्यसो नगर्न सुझाव दिएका छन् ।

लामो समय कानुनको अभ्यास नगरेका, पूर्वन्यायाधीशका आफन्त र राजनीतिक दलको कोटामा उच्च अदालतमा न्यायाधीश बनाउँदा न्याय सम्पादनमा विचलन देखिन थालेको भन्दै फुलकोर्टमा न्यायाधीशहरूले चिन्ता व्यक्त गरेका थिए । उच्चको फैसला चित्त बुझाउनेभन्दा सर्वोच्च आउनेक्रम बढेकाले मुद्दाको चाप बढेको न्यायाधीशहरूले आफ्नो राय दिएको सर्वोच्च स्रोतले बतायो ।

न्यायाधीश नियुक्तिमा देखिएका तीनवटा विकृति हटाउनुपर्ने धेरै न्यायाधीशको सुझाव थियो । उनीहरूले न्यायाधीश बनाउँदा पैसा लिने गरेको आरोपबाट मुक्त हुनुपर्ने, आफन्तलाई जसरी पनि न्यायाधीश बनाउने अभ्यास रोक्नुपर्ने र राजनीतिक तहबाट आउने सिफारिस बन्द हुनुपर्ने बताएका छन् । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्