Logo

लोकप्रिय बन्दै स्मार्ट शौचालय



काठमाडौं, जेठ ३० । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएको छ । महानगर कार्यपालिकाको दोस्रो बैठकमा महानगर प्रमुख बालेन्द्र शाहले उक्त घोषणा गरेका हुन् ।

आधुनिक सुविधासहित व्यवस्थापन गरिएका सार्वजनिक शौचालयलाई स्मार्ट शौचालय भन्ने गरिएको छ । सार्वजनिक शौचालय दुर्गन्धित हुने तथा पानी, बिजुली र चुकुलसमेत नभएका फोहोर ठाउँका रूपमा बुझिने आम धारणामा परिवर्तन गर्ने गरी स्मार्ट शौचालयको अवधारणा ल्याइएको हो । हाल राजधानीको ललितपुर र काठमाडौंमा छवटा स्मार्ट शौचालय सञ्चालनमा छन् ।

सार्वजनिक शौचालयको सफल व्यवस्थापनकै कारण नेपालले विभिन्न राष्ट्रमा आयोजित प्रतियोगितामा सहभागी भई पुरस्कार जित्ने अवसरसमेत पाएको छ । ललितपुर महानगरपालिका, मङ्गलबजारस्थित पुरानो सार्वजनिक शौचालयको मर्मत सम्भार गरी सन् २०२० को फेब्रुअरीदेखि स्मार्ट बनाइएको थियो ।

नेपालको स्मार्ट शौचालयले दिगो विकास लक्ष्यका लागि संयुक्त राष्ट्रसङ्घीय विज्ञान, प्रविधि र नवप्रवर्तन मञ्च, २०२० अवार्ड जित्न सफल भएको थियो । त्यस्तै सन् २०२१ अगस्तमा विश्व पानी महोत्सवका अवसरमा स्विडेनमा आयोजित प्रतियोगितामा शौचालय सफाइ विधामा एरोसान हब अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट अन्तिम पाँचमा पुग्न सफल भएको थियो ।

एरोसान हबका कार्यकारी प्रमुख प्रकाश अमात्यका अनुसार सुरुमा शौचालय व्यवस्थापनको प्रस्ताव लिएर जाने एरोसान हबको टोलीलाई स्थानीय बासिन्दाले शौचालयका कारण वरिपरि दुर्गन्ध फैलिन्छ भन्दै व्यापक विरोध गरेका थिए । त्यहाँको सफल व्यवस्थापनपछि स्थानीय विश्वस्त भएका थिए । उहाँले शौचालयका लागि स्थानीय तहले ठाउँ मात्र उपलब्ध गराउने र लगानी तथा व्यवस्थापन एरोसान हबले गरेर रोजगारीको अवसर सिर्जना गरिरहेको बताए ।

मङ्गलबजारको स्मार्ट शौचालय प्रयोग गरेपछि आयुषा गोलेले अनुभव सुनाए, “यहाँको सेवासुविधा देखेरै त म छक्क परेँ । राम्रा होटल, रेस्टुरेन्टमा यस्तो शौचालय देखेको थिएँ, अब सार्वजनिक स्थानको शौचालय पनि यति व्यवस्थित बन्न थालेछ ।” पाटन मङ्गलबजार, त्रिपुरेश्वर, पाटन ढोका, नयाँ बानेश्‍वर र विष्‍णुमतीको रामघाट, स्वयम्भू बुद्ध पार्कमा आधुनिक स्मार्ट शौचालय सञ्‍चालन भइरहेको एरोसान हबले जनाएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्