Logo

उपेन्द्र यादवको हुकुम र हैकमले पार्टी चल्दैन, जसपा विभाजनको मुख्य जिम्मेवारी उनैले लिनुपर्छः महिन्द्र राय यादव



काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता महिन्द्र राय यादवले पार्टी विभाजन हुने स्थितिमा सम्पूर्ण जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवले लिनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने, “जसपालाई समावेशी र सामूहिक नेतृत्वबाट चलाउन विधानमा दुई अध्यक्षको व्यवस्था गरिएको छ । त्यसमा एउटा मधेसबाट अध्यक्ष हुन्छ, अर्को पहाडबाट । त्यसैले एक्लो व्यक्तिले आकाश थाम्छ भन्ने भ्रम राख्नुहुन्न । उपेन्द्र यादवको हुकुम र हैकममा थोडै पार्टी चल्छ ?”
दुई जना अध्यक्ष राख्न नमाने पार्टी दुर्घटनामा जाने पनि उनले औंल्याए । यादवले भने, “पार्टीमा दुइटा अध्यक्ष राख्दा के बिग्रन्छ ? मै हुँ भनेर पार्टी चल्दैन । उपेन्द्रजीको पार्टी बारम्बार किन फुट्छ ? सबैलाई पेलेर राख्यो भने मानिसहरु छाडेर जान्छन् । फेरि पनि पार्टी फुट्यो भने त्यो दुर्घटनाको मूल जिम्मेवारी उपेन्द्र यादवले नै लिनुपर्छ ।” तर उनले आफ्नो उद्देश्य अझै पनि पार्टीलाई बलिया बनाउने नै रहेको स्पष्ट पारे ।
एक हप्ता भारतमा के गरेर आउनुभयो भन्ने पत्रकार धमलाको प्रश्नमा कृषि मन्त्री समेत रहेका यादवले भने, “म एक हप्ता भारतमा बसेर आएको छु । वर्ल्ड फुड सेक्युरिटीको बैठकमा भाग लिएँ र भारत सरकारसँग मलखादका विषयमा कुराकानी गरे‌ं । गत फेब्रुअरीमै मलका लागि भारतसँग एमओयु भएको थियो । त्यस अनुसार भारतबाट डेढ लाख मेट्रिक टन मल केही दिनभित्रै आइपुग्ने वातावरण बनेको छ ।”
मन्त्री यादवले मलको समस्या अन्तर्राष्ट्रिय रुपमै रहे पनि नेपालमा कानुनी झन्झट पनि जिम्मेवार रहेको बताए । उनले भने, “हामीले १४ पल्ट टेन्डर गरिसक्यौं । देशबाहिर ८–१० दिनको टेन्डर प्रक्रिया हुन्छ, हाम्रोमा ३५ दिने टेन्डर प्रक्रिया झन्झटिलो छ । यति हुँदाहुँदै पनि डेढ लाख मेटिक ट्रन मल प्रक्रिया मिलाएर चाँडै पठाउने विश्वास दिलाएको छ । भारतले पनि अन्यत्रबाट खरिद गरेर नेपाललाई दिने हो । भारतले वर्षेनी ५ लाख मेट्रिक टन दिने सहमति भएको छ । यसबाहेक विभिन्न नाकामा अन्य मल आएर बसेका छन् । चारैतिरबाट मलखाद आउने वातावरण बनेको छ । केही दिनमै किसानले पाउँछन् ।”



प्रतिक्रिया दिनुहोस्