Logo

नयाँ पुस्ता चुनाव लड्न उत्साही, प्रमुख दलहरुलाई युवा टिकाउन मुश्किल



काठमाडौं, ३० जेठ । यसै वर्ष प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुने निश्चित नै छ । सम्भवतः मंसिरमा संसदको चुनाव हुन्छ । चुनाव हुने भएपछि राजनीतिक दलका उम्मेदवारका आकांक्षी मात्र नभई ठूलो संख्यामा स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरुले तयारी गरिरहेका छन् ।

स्वतन्त्रताका धेरैले उम्मेदवारी घोषणा गरिसकेका छन् । कतिपय युवाहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् । यसले योपालीको चुनाव रोचक बन्ने देखिएको छ ।

काठमाडौंमा सबैभन्दा बढी युवा उम्मेदवारहरु देखिने अवस्था बनेको छ । ४० को हाराहारीका धेरैले उम्मेदवारी घोषणा गरेका छन् । बालेन साह स्वतन्त्र उम्मेदवार बनेरै चुनाव जितेपछि युवाहरु उत्साही भएका छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलमा युवाहरुले उम्मेदवार बन्न दबाब बढाउन थालेका छन् । पाका नेताहरुलाई यसकारण पनि हम्मे पर्न थालेको छ । उम्मेदवार नबनाइए धेरैले विद्रोह गर्ने तयारी गरेका छन् ।

नयाँ पुस्तामा विगतमा राजनीतिप्रति वितृष्णा भएकोमा पछिल्लो समय चाख बढ्न थालेको छ । जसका कारण पाका र अनुभवी धेरै नेताहरु या त नयाँ पीढीलाई छाड्नुपर्ने या त उनीहरुको चुनौतीको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । प्रमुख दलहरुलाई नै युवालाई पार्टीभित्र टिकाएर राख्न मुश्किल देखिएको छ ।

पाका नेताहरुमा शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रचण्ड, माधवकुमार नेपाल, महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतलाई नै चुनाव चुनौती बनेको छ । उनीहरु आफ्नै क्षेत्रमा युवा उम्मेदवारहरुको सामना गर्नुपर्ने चुनौती देख्न थालिसकेका छन् । यसकारण पनि चुनाव रोचक बन्ने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्