Logo

केपी ओलीलाई बालुवाटारबाट देश चलाएको भन्ने शेरबहादुर देउवा एक दिन पनि सिंहदरबार गएका छैनन्ः विशाल भट्टराई



काठमाडौं, ३० जेठ । नेकपा (एमाले) का नेता विशाल भट्टराईले ५ दलीय गठबन्धन देशका लागि बोझ भएकाले त्यसलाई भत्काउनुपर्ने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “५ दलीय गठबन्धनसँग देश बनाउने साझा संकल्प, नीति, कार्यक्रम र गन्तव्य छैन । गठबन्धन देशका लागि बोझ भयो । अब नेकपा एमालेले वामपन्थी वा लोकतान्त्रिक गठबन्धन बनाउने भन्दा पनि हामी गठबन्धन घातक छ, भत्किनै पर्छ भनेर जनतालाई बुझाउँछ ।”
नेता भट्टराईले भोटमा अगाडि भए पनि सिट संख्यामा कम भएको बारेमा एमालेले गम्भीर समीक्षा गर्ने पनि बताए । उनले थपे, “आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । त्यसपछि पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक बस्छ । हामी स्थानीय तह निर्वाचनको ठोस समीक्षाग गर्छौं । निर्वाचनमा अपेक्षाकृत परिणाम आएन । हामी आधाजसो पालिका जित्छौं भनेर होमिएका थियौं । भोटमा त एमाले अगाडि नै छ । तर एउटा पार्टीविरुद्ध ५ पार्टी मिलेकाले सिटमा दोस्रो भयौं । उनीहरुले एमालेसँग एक्लै चुनाव लड्न नसकेर गठबन्धन गरेका हुन् । उनीहरुको एकमात्र उद्देश्य एमालेलाई हराउने थियो । निर्वाचन परिचालन, गतिलो उम्मेदवार दिएर हामी त्यसलाई सुधार्छौं ।”
केपी ओलीलाई बालुवाटारबाट देश चलाएको भन्ने शेरबहादुर देउवा पनि सिंहदरबार नगएको आरोप पनि उनले लगाए । भट्टराईले भने, “केपी ओलीमाथि बालुवाटारबाट देश चलाए भन्ने आरोप थियो । प्रधानमन्त्री शेरबहादुर देउवा पनि बालुवाटारबाटै देश चलाइरहनुभएको छ । एक दिन पनि सिंहदरबार जानुभएको छैन । त्यसलाई पनि जनताले चुनावमा मनन गर्छन् ।”

 



प्रतिक्रिया दिनुहोस्