Logo

महन्थ बालुवाटार पुगेलगत्तै बाबुराम किन पुगे



काठमाडौं, ३० जेठ । जनता समाजवादी पार्टी फुट्न लागेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई समूहबीचको विवाद चुलिएपछि जसपा फुट्न लागेको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादव र अर्का नेता बाबुराम भट्टराईले आफूहरुसँग केन्द्रीय कार्यसमिति र संसदीय दलमा बहुमत रहेको दाबी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासँग सम्पर्क गरेका छन् । बहुमत आफूहरुसँग रहेको भन्दै बाबुराम भट्टराईले जसपाबाट मन्त्री फेर्ने सूचीबारे देउवालाई भेटेर छलफल गरेको विश्वस्त स्रोतले बताएको छ ।

बाबुरामको साथमा कृषिमन्त्री महेन्द्र राय यादव र सांसद राजकिशोर यादव पनि गएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरु बालुवाटार पुगेर देउवालाई भेटेपछि बाबुराम पनि पुगेका हुन् ।

लोसपा सरकारमा जानेबारे छलफल अगाडि बढेको छ । लोसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारीलगायत बालुवाटार पुगेका थिए । देउवाले लोसपालाई दुई मन्त्रीको प्रस्ताव गरिसकेका छन् ।

यसैगरी बाबुराम भट्टराईको समूहलाई आधिकारिक मान्दै देउवाले सरकारका सहभागी गराउने सम्भावना बलियो भएको छ । यसो हुँदा उपेन्द्र यादव गठबन्धनबाट बाहिर हुन सक्छन् ।



प्रतिक्रिया दिनुहोस्