Logo

देउवासामु सत्ता संकट, माधव नेपालको भाग्योदय हुनसक्ने



काठमाडौं, ३० जेठ । प्रधानमन्त्री शेरबहादुर देउवासामु ठूलो संकट आइपरेको छ । उनलाई प्रधानमन्त्री बनाउन सघाउने गठबन्धनका दलहरुभित्र भाँडभैलो चलेपछि देउवामाथि संकट आइपरेको छ । यो संकटले उनलाई सत्ताबाट पनि हट्नुपर्ने अवस्थामा पुर्याउन सक्ने देखिदैछ ।

गठबन्धनको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी फुटको संघारमा पुगेका छन् । यसलाई जोगाउन नसके देउवालाई दूरगामी असर पर्न सक्छ । माओवादी र एस फुटेमा फुटबाट बनेको शक्ति सिधै एमालेसँग जोडिनसक्छ । यसले गठबन्धनलाई कमजोर मात्र बनाउने छैन आगामी संसदको चुनाव देउवाका लागि ठूलै चुनौती बन्न सक्छ ।

अहिले सबैभन्दा ठूलो दबाबमा प्रचण्ड परेका छन् । नारायणकाजी श्रेष्ठ, वर्षमान पुनलगायत प्रभावशाली नेताहरु विद्रोहको तयारीमा पुगेका छन् । श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् । पुन त ओलीसँग नियमित सम्पर्कमा रहेर कम्युनिस्ट एकताको पक्षमा लागिरहेका छन् । प्रचण्डमाथि ओलीसँग सहमति गरेर चुनावमा जान पुनले सबैभन्दा दबाब सृजना गरिरहेका छन् ।

श्रेष्ठ र पुनले विद्रोह गर्न सक्ने देखेपछि प्रचण्डले उनीहरुलाई मन्त्री बनाएर भएपनि संकट टार्ने रणनीति चालिसकेका छन् । यसका लागि अर्थमन्त्री जर्नादन शर्मालाई ब्याक गराउन खोजेका छन् । अन्य मन्त्रीहरुलाई पनि ब्याक गराएर व्यवस्थापन गर्ने प्रयास थालेका छन् ।

नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री फेर्न खोज्दा भाँडभैलो भइसकेको छ । एसका मन्त्रीहरुले माधव नेपाल र झलनाथ खनाललाई नै चुनौती दिएका छन् । तर, एसभित्र विद्रोह हुनु भनेको देउवाका लागि अर्को संकट हुनसक्छ । यसले माधव नेपाल र झलनाथ खनालमाथि ओलीसँग मिल्ने दबाब बढ्छ । खनाल त एमालेसँग तालमेल या एकताको सम्भावनाको ढोका बन्द नभएको बताएर चर्चामा आइसकेका छन् ।

जनता समाजवादी पार्टीभित्र पनि भाँडभैला देखिएको छ । अध्यक्ष उपेन्द्र यादव र अर्का नेता डा. बाबुराम भट्टराईबीचको विवाद छताछुल्ल भएको छ । यादवलाई गठबन्धनबाट बाहिर बनाउने प्रयास चलिरहेको छ । उनी गठबन्धनबाट बाहिरिएमा जाने भनेको एमालेसँगको तालमेलमै हो । त्यसले गठबन्धनलाई कमजोर मात्र बनाउने छैन देउवालाई संसदको चुनावमा मधेश प्रदेशमा मुश्किल बनाउन सक्छ ।

अहिलेको घटनाक्रमले गठबन्धनका दलहरु फुट्न सक्ने अवस्था विकास भएको छ । यसलाई जोगाउन नसके देउवा सबैभन्दा ठूलो समस्यामा पर्न सक्छन् । यसकारण पनि उनको सत्ता संकट बढेर गएको छ । यसै पनि अमेरिकाको भूमिकाहरु बढेको भन्दै कम्युनिस्ट शक्ति देउवाविरुद्ध एकजुट हुँदै जान थालेका छन् । यो संकट टार्न देउवालाई सजिलो छैन । उनका लागि सत्ता नै छाडेर गठबन्धनकै कुनै शिर्ष नेतालाई अगाडि बढाउनुपर्ने अवस्था पनि आउनसक्छ । त्यतिबेला माधव नेपालको भाग्योदय हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस्