Logo

अमेरिका नेपाललाई युक्रेन या अफगानिस्तान बनाउन चाहन्छ, अहिले प्रधानमन्त्री र प्रधान सेनापति अमेरिका भ्रमणमा जान मिल्दैनः देव गुरुङ



काठमाडौं, ३१ जेठ । नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणमा जान नहुने दोहोर्‍याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गुरुङले भने, “दौत्य सम्बन्ध भएका मुलुकहरुबीच भ्रमण आदानप्रदान हुनै सक्दैन भन्ने होइन । तर संवेदनशील विषयमा भ्रमणमा जाँदा सजग र सतर्क हुनु जरुरी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यतिबेला केका लागि भ्रमण गर्ने हो ? राष्ट्रिय स्वाधीनतामा आँच पुग्ने किसिमका बुँदा मिडिया र बजारमा जे जसरी आएका छन्, त्यसले हामीलाई गम्भीर बनाएको छ । यसबारे मन्त्रिपरिषदमा कुरा उठेको छैन । संसदलाई कुनै जानकारी छैन । गठबन्धनमा छलफल भएको छैन । सर्वदलीय सहमति छैन । त्यसैले भ्रमणमा जानु उचित छैन ।”
प्रधानमन्त्री देउवाका साथै प्रधान सेनापति भ्रमणमा जानु राष्ट्रघात हुने उनले औंल्याए । गुरुङले भने, “नेपाली सेना र अमेरिकाको उटाह राज्यबीच सैनिक समझदारी गर्ने जुन १० बुँदे खेस्रा आएको छ, त्यसमा प्रधानमन्त्री र सेनापति सकारात्मक भएको अनौपचारिक च्यानलबाट सूचना आइरहेको छ । अमेरिकी अधिकारीहरुले नेपाललाई सैन्य पाटर्नरसिपमा लैजान खोजिरहेको छ । तिब्बती शरणार्थीलाई आईडी कार्ड दिनुपर्ने, बोर्डर क्रस गरेकालाई ट्राभल डकुमेन्ट दिनुपर्ने भनी अमेरिकाले लगातार दबाब दिएर नेपाललाई एक चीन नीतिविरुद्ध उभ्याउन लागिरहेको छ । सूचना प्रविधि क्षेत्रमा अमेरिकी सेनाको रणनीति परिपूर्ति हुने गरी सम्झौता गर्न लागेको छ । नेपालमा युरेनियमलगायत प्राकृतिक स्रोत साधन दोहन गर्न खोजिरहेको छ । त्यसमा नेपाल सहमत छैन । एजेन्डाका आधारमा द्विपक्षीय भ्रमण हुने हो । अमेरिकाको एजेन्डामा हामी सहमत छैनौं भने प्रधानमन्त्री किन जाने ?”
अमेरिकाले नेपाललाई युक्रेन वा अफगानिस्तान बनाउन चाहिरहेको आरोप पनि उनले लगाए । गुरुङले भने, “अमेरिका र नेपालको परराष्ट्र नीतिमा आकाश र धर्तीको अन्तर छ । अमेरिकी परराष्ट्र नीति भनेको फौजी रणनीति हो । उसले जहिल्यै युद्धको तयारी गर्छ । अमेरिका नेपाल युक्रेन वा अफगानस्तिान बनाउने दिशामा छ । नेपालले असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त र शान्त कूटनीति त्याग गरेको हो र ? समान हितका लागि द्विपक्षीय बनाउनु उपलब्धिमूलक हुन्छ । राष्ट्रिय स्वार्थ नै उल्टापुल्टा हुने गरी अमेरिकासँग सम्बन्ध बनाउनुको औचित्य के ? यस्तो राष्ट्रघातको पराकाष्टा हो ।”
देउवा सरकारको परराष्ट्र नीति असन्तुलित भएको गुरुङको आरोप छ । उनले भने, “लोकतन्त्रको सवालमा कांग्रेस एक हदसम्म एमालेभन्दा सकारात्मक छ । परराष्ट्र सम्बन्धमा कांग्रेसको नीति सन्तुलित छैन । प्रधानमन्त्री भारत भ्रमणमा जाँदा जलस्रोतसम्बन्धी थुप्रै समझदारी गरेर आउनुभयो । यसबारे गठबन्धन, मन्त्रिपरिषद्, संसदलाई थाहै भएन । लगानी बोर्डले गरेर हुन्छ ? युक्रेनबारे राष्ट्रसंघमा कुरा अमेरिकाको पक्ष लियो । अहिले अमेरिकी अधिकारीहरु तारन्तार आइरहेका छन् । यसबारे प्रस्ट पार्नुपर्दैन ? अमेरिकी सेनाले युनिफर्म ड्रेसमै एयर फोर्सबाट कार्गो उतार्‍यो । सरकारले नियमित सैनिक तालिम भनेर टार्‍यो । यसको विरोध गर्नुको विकल्प छैन ।”
भूराजनीतिक संवेदनशीलताका मामिलामा एमालेको प्रतिक्रिया सकारात्मक रहेको पनि माओवादी केन्द्रका नेता गुरुङले बताए । उनले भने, “भूराजनीतिक संवेदनशीलताका मामिलामा नेकपा एमालेको प्रतिक्रिया सकारात्मक छ । तर सरकारमा रहँदा एउटा भाषा, बाहिर रहँदा अर्को भाषा लिने दोहोरो चरित्र लिनु हुँदैन । एमालेले अमेरिका सेनाको स्थल सेना राख्न किन वार्ता गर्‍यो ? अमेरिकाले आईपीएसको पार्ट बनाएपछि सदनमा अनुमोदनका लागि किन लग्यो ?”



प्रतिक्रिया दिनुहोस्