Logo

विपत् पूर्वतयारी कार्ययोजना पारित



सुनसरी, जेठ ३१ । मनसुन भित्रिएसँगै देशव्यापी वर्षा सुरु हुन लाग्दैछ । त्यससँगै बाढीपहिरोका घटना पनि हुन थालेका छन् । यस वर्ष औसतभन्दा बढी वर्षा हुने र त्यसबाट २० लाख जनसङ्ख्या र चार लाख २१ हजार घरधुरी प्रभावित हुने पूर्वानुमान गरिएको छ । यस सन्दर्भमा मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सरकारले पूर्वतयारी गरेको छ ।

सम्भावित बाढीपहिरो तथा डुबानबाट जनधनको क्षति कम गर्न सरकारले ७७ वटै जिल्लामा विशेष सतर्कतासहित पूर्वतयारीमा जुटेको हो । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार गृह मन्त्रालयमा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७९ पारित गरेको छ । मनसुनजन्य विपतका घटनाबाट हुनसक्ने क्षति कम गर्न भइरहेको पूर्वतयारीबारे समीक्षा पनि बैठकले गरेको छ ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको सो कार्ययोजनामा अघिल्लो वर्ष बाढीपहिरो तथा डुबानको क्षति तथा अघिल्ला १० वर्षको मनसुनको अवस्थालाई विश्लेषण गरी कार्ययोजना तयार गरेको छ । कार्ययोजनामा १४ वटा विभिन्न सरोकारवाला निकायसहित तीनवटा सुरक्षा निकायको जिम्मेवारी तोकिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बैठकमा सम्भावित विपत्को जोखिम न्यूनीकरणका लागि भइरहेको काम तथा थप पूर्वतयारीबारे समीक्षा भएको जानकारी दिए । उनले सम्भावित बाढीपहिरो र डुबानबाट हुनसक्ने जनधनको क्षति कम गर्न तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएको बताए ।

बैठकमा गृहमन्त्री खाणले पूर्वतयारीको अवस्थाबारे जानकारी लिएका थिए।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले प्रतिकार्य संलग्न निकायसम्म सर्वसाधारणसम्म सञ्चार पहुँच पु(याउनुपर्ने विचार व्यक्त गरे। सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एकीकृत विकासमा विपत्सम्बन्धी विषयवस्तुलाई समावेश गरिनुपर्ने धारणा राखिन् ।

मुख्यसचिव शङ्करदास बैरागीले उद्धार र राहतमा तलदेखि माथिसम्मका निकायबीच समन्वय र रणनीतिक स्थानहरूमा पर्याप्त मात्रामा उपकरणको व्यवस्था गर्नु आवश्यक रहेकोमा जोड दिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्