Logo

“चीनका जनरल नेपाल आएका छैनन् ?”



काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्तारुढ दलकै नेताले प्रधानमन्त्रीलाई अमेरिका गर्नहुन्न भन्नु विडम्बना भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता डा. महतले भने, “नेपालको प्रधानमन्त्रीले अमेरिका भ्रमण गर्न नहुने भन्ने देव गुरुङजीको प्रतिक्रिया विडम्बनापूर्ण छ । के उसो भए अमेरिकासँग नेपालले सम्बन्ध विच्छेद गर्ने त ? नेपाल र अमेरिकाबीच दशकौंको सम्बन्ध छ । यस्तो सम्बन्धमा भ्रम फैलाउने वा झूटो कुरा गर्न मिल्दैन ।
अमेरिकी सेना नेपालमा नउत्रिएको पनि उनको जिकिर छ । उनले भने, तालिमका लागि नेपाली सेना चीन, भारत, अमेरिका सबैतिर जान्छ । तिनका सैनिक पनि नेपाल आउँछन् । यो उहिलेदेखि हुँदै आएको कुरा हो । यहाँ अमेरिकाका मात्र होइन, भारत र चीनका जनरल भ्रमणमा आएका छैनन् ?”
अमेरिकी सहायक विदेशमन्त्रीले शरणार्थीलाई भेट्नु स्वाभाविक भएको पनि डा. महतले बताए । उनले भने, “नेपाल शरणार्थी मामिलामा उदार देश हो । यहाँ तिब्बती मात्र होइन, भुटानी, रोहिंग्या शरणार्थी पनि छन् । अमेरिका शरणार्थीको चासो, चिन्ता राख्ने मुलुकले हो । उसले शरणार्थीलाई सहयोग गर्दै पनि आइरहेको छ । तर हामी नेपालको भूमि न चीनविरुद्ध प्रयोग गर्न दिन्छौं, न भारतविरुद्ध प्रयोग गर्न दिन्छौं । तर यो यथार्थ नबुझीकन कांग्रेस सरकारलाई कहिले भारतपरस्त भनिएको छ, अमेरिकापरस्त भन्ने गरिएको छ । अमेरिकाले नेपाललाई ६० अर्ब अनुदान सित्तैंमा दिइरहेको छ । अमेरिकी अनुदानलाई उहाँहरुले किन राष्ट्रघात भन्नुभयो ? त्यो कसरी खराब हो ?”
वर्तमान सरकारले चीनबाट सहयोग नलिने नभनेको पनि कांग्रेस प्रवक्ता डा. महतले स्पष्ट पारे । उनले भने, “यो अत्यन्त गलत प्रचार हो । चीनसँग पनि हामीले राम्रो सम्बन्ध राखिरहेका छौं । किन यस्तो भ्रामक आरोप लगाउनुभयो ? चीनसँग हाम्रो सौहाद्र्र सम्बन्ध छ । बीआरआई लिन्न कसले भनेको छ ? यसको सैद्धान्तिक सहमति मेरै पालामा भएको हो । केपी ओलीजी आएपछि बीआरआईका कुनै कार्यक्रम अगाडि बढाउन सक्नुभएन । रेल, रेल भनेर ठूलो कुरा गर्नुभयो । केही प्रगति भएन । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि चिनियाँ विदेशमन्त्री नेपाल आउँदा रेलवे सर्वेक्षणको सहमति भएको छ ।”
कुनै पनि देशको ऋण सहायता उत्पादनशील क्षेत्रमा खर्च गर्नुपर्नेमा उनको जोड छ । डा. महतले भने, “वैदेशिक सहायता नेपालको आवश्यकता र स्वार्थ अनुरुप उत्पादनशील क्षेत्रमा लिने हो । श्रीलंका फाइदा नहुने आयोजनामा लगानी गर्दा ऋणको भारमा पर्यो । ओलीजीले पनि अनुत्पादक क्षेत्रमा मात्र लिने गर्नुभयो । हामी ऋण लिँदै नलिने भनेका होइनौं । महत्त्वपूर्ण योजना छनोट गरेर सहुलियत दरमा आउँछ भने मात्र लिने भनेका हौं । त्यसो भए मात्र ऋणको चापमा पर्नबाट हामी बच्न सक्छौं । भारत होस्, वा चीन, अमेरिका, सबैको हकमा यही हो ।”

 



प्रतिक्रिया दिनुहोस्