Logo

श्रद्धाका भाइ सिद्धान्त २४ घण्टामै धरौटीमा छुटे



एजेन्सी, ३१ जेठ । बलिउड अभिनेत्री श्रद्धा कपुरका भाइ तथा अभिनेता सिद्धान्त कपुर लागूऔषध मुद्दामा धरौटीमा रिहा भएका छन् ।

सिद्धान्तलाई बैंगलोर प्रहरीले अघिल्लो दिन बिहान पक्राउ गरेको थियो, त्यसपछि उनी २४ घण्टाभित्र धरौटीमा रिहा भएका छन् ।

वास्तवमा, सिद्धान्तलाई बैंगलोर पुलिसले पबमा चलिरहेको रेभ पार्टीबाट पक्राउ गरेको थियो। उनी यो पार्टीमा डीजेको रूपमा सामेल थिए । पार्टीमा सिद्धान्तसहित ६ जनाको लागूऔषध परीक्षणमा पोजेटिभ देखिएको हो ।

सिद्धान्त कपूर र पार्टीबाट पक्राउ परेका चार जनालाई स्टेसन जमानतमा रिहा गरेको हो । उनीहरु मुद्दामा सोधपुछका लागि बोलाइँदा प्रहरीसमक्ष हाजिर हुनुपर्नेछ ।

सुशान्त सिंह राजपूत ड्रग्स केसमा नार्कोटिक्स कन्ट्रोल ब्यूरोको छानबिन सूचीमा श्रद्धा कपूर पनि परेकी थिइन्। तर, उनीविरुद्ध ठोस केही प्रमाणित हुन सकेन । सेप्टेम्बर २०२० मा एक व्हाट्सएप च्याटमा उनीहरूको नाम देखा पर्दा श्रद्धा कपूर, सारा अली खान र दीपिका पादुकोणलाई प्रश्न गरिएको थियो।

सिद्धान्त कपुर बलिउड अभिनेता शक्ति कपुरका छोरा हुन् । उनले १९९७ मा आएको फिल्म जुडवाबाट आफ्नो करियर सुरु गरेका थिए । सिद्धान्तले अग्ली, जज्बा, हसिना पारकर, पल्टन, हेलो चार्ली र चेहरे जस्ता फिल्ममा काम गरिसकेका छन् । हालै रिलिज भएको सिरिज भौकालमा पनि सिद्धान्त देखिएका थिए ।



प्रतिक्रिया दिनुहोस्