Logo

अर्थमन्त्रीको राजिनामा माग गर्दै एमालेद्वारा संसद बैठक अवरोध



काठमाडौ, जेठ ३१ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आफुमाथि लागेका आरोपबारे संसदमा जवाफ दिनु पर्ने तथा राजिनामा दिनु पर्ने भन्दै एमालेले बैठक अवरोध गरेको हो ।

बैठक सुरु हुनासाथ एमाले सांसद सुरेन्द्र पाण्डेले अर्थमन्त्रीले अर्थ मन्त्रालयमा अर्थ मन्त्रालय भन्दा बाहिरका व्यक्तिलाई बोलाएर बजेटमा करको दर हेरफेर गर्न दिनु गम्भीर विषय भएको बताएका थिए । बजेट लेखन गर्ने चरणमा अर्थ मन्त्रालयमा कर्मचारी बाहेक कोहि पनि प्रवेश गर्न नपाइने, कसैले पनि टेलिफोन गर्ने अधिकार पनि नहुने र सचिवको फोन दराजमा राख्नु पर्ने प्रचलन रहेको बताए । यस्तो अवस्थामा बाहिरको व्यक्तिले बजेटमा करको दर हेरफेर गर्नु गम्भीर विषय रहेको र अर्थमन्त्रीले संसदमा आएर त्यसको जवाफ दिनु पर्ने बताए।

उनले नैतिकताका हिसाबले अर्थमन्त्री पदमा बसिरहन नमिल्ने तर्क समेत गरेका छन् । निर्यात गर्ने उद्योग टाट पल्टिने गरि बजेटमा करका दर समावेश भएको, नेपालका स्यानीटिरि उद्योग डुबाउने गरि करको दर आएको उनले उल्लेख गरेका छन् । सांसद पाण्डेले अर्थमन्त्री नैतिक रुपले त्यो पदमा बस्न लायक हुनु हुन्छ कि हुदैन भन्दै प्रधानमन्त्रीको समेत ध्यानकर्षण गराएका छन् । त्यस्तै एमालेले आजको लागि कार्यसूचीमा राखिएको अर्थ मन्त्रालय समबन्धमा जवाफ दिने कार्यक्रम हटाउनु पर्न माग गरेको छ ।

सभामुखले एमालेले उठाएका २ विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएपछि एमाले सांसदहरुले अवरोध खुलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्