Logo

प्रचण्डलाई प्रधानमन्त्री बनाउनको लागि एमालेले बिना शर्त समर्थन गर्छ : विशाल भट्टराई (भिडिओसहित)



काठमाडौं, ३१ जेठ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा प्रमुख सचेतक विशाल भट्टराईले आफूहरुलाई सरकारमा सहभागी हुन कुनै हतार नभएको प्रतिक्रिया दिएका छन् । उनले अहिलेको सरकारले ब्रम्हलुट मच्चाएको भन्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पमकल दाहालले सरकार बनाउन प्रयास गरेर बाहिर बसेर सहयोग गर्ने खुलासा गरे ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले यस्तो बताएका हुन् । उनले भने,‘एमाले बाहिर बसेर सरकार बनाउन सपोर्ट पनि गर्न सक्छ ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्ने भए सरकार बनाउनको लागि बाहिर बसेर भएपनि समर्थन गरिदिने उनको दाबी छ ।

उनले भने,‘हामी एकदम बिना शर्त सहयोग गर्छौं । उहाँहरुले चुनावी सरकार बनाए हामी समर्थन गरिदिन्छौं । तर, हामीलाई सरकारमा जान कुनै रुचि छैन् । हतारो छैन् ।’ उनले अहिलेको सरकारले राष्ट्रिय उद्योग समाप्त पारेको आरोप लगाए । उनले सरकारले खोपसमेत गायब बनाएको र आफूहरुले हिसाब मागेको सुनाए ।

उनले आफूहरुले आगामी संसद्को निर्वाचनमा एक्लै जाने भनेर कसम नखाएको टिप्पणी गरे । उनले आफूहरुको सबैलाई भेला पारेर जाने भनेर पनि कुनै तयारी नगरेको सुनाए । उनले मुलुकको निर्वाचन प्रणालीले एक्लैले बहुमत ल्याउन मुश्किल भएकोले मिल्नसक्नेसँग आवश्यकत्ताअनुसार तालमेल गरेर पनि जान सकिने सुनाए ।



प्रतिक्रिया दिनुहोस्