Logo

परराष्ट्रमन्त्री खड्काद्वारा अमेरिकासँग हुने भनिएको एसपीपी सम्झौताको बचाऊ



काठमाडौं, ३१ जेठ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकासँग हुने भनिएको स्टेट पार्टनरशिप प्रोगाम एसपीपीको बचाऊ गरेका छन् । उनले यो सम्झौता नभई साझेदार भएको र अमेरिकी सेनाले विभिन्न देशहरुसँग समन्वय गरी प्राकृतिक प्रकोपको सामना गर्ने विषय रहेको जिकिर गरे ।

‘एसपीपी मानवीय सहयोग प्राकृतिक प्रकोपमा सघाउने अवधारणाबाट आएको हो,’ परराष्ट्रमन्त्री खड्काले प्रतिनिधिसभामा सांसदहरुको प्रश्नको जवाफ दिदै भने,‘यो सम्झौता होइन साझेदार हो, सन्धी होइन अस्थायी किसिमको साझेदार हो यो ।’ नेपालले कुनै देशसँग सैन्य साझेदार गर्नुपर्ने आवश्यकता नभएको बताए । तर, विभिन्न तहमा समन्वय भने गरिने बताए ।

खड्काले एसपीपी साझेदार देशका सेनासँग मिलेर मानवीय सहयोग र प्राकृतिक प्रकोपको अवस्थामा सहयोग भएको जिकिर गरे । खड्काले उदाहरण दिदै समुन्द्री आँधी आउँदा अमेरिकी सेनाले जहाज ल्याएर अर्को देशको सेनासँग मिलेर सामना गर्ने विषयसँग सम्बन्धित भएको बताए । उनले देशको सार्वभौमिकता र अखण्डतालाई आँच नपुग्ने गरी कुनैपनि देशसँग सम्झौता र साझेदारी गरिने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्