Logo

प्रदेश १ को नाम जुर्ने भयो, पहिचान कि भूगोल



काठमाडौं, ३१ जेठ । देशको सात मध्ये ६ प्रदेशको नाम जुर्दा प्रदेश १ हो भने जुर्न बाँकी छ । पूर्वको महत्वपूर्ण क्षेत्र रहेको प्रदेश १ मा अझै नामको विवाद कायम छ ।

दलहरु नाम राख्नुलाई राजनीतिक स्वार्थसँग पनि जोडेर हेरिरहेका छ । अधिकांशले पहिचानका आधारमा राख्नुपर्नेमा जोड दिइरहेका छन् । केहीले भूगोललाई प्राथमिकतामा राख्न भनेका छन् । केही दलले पहिचान र भूगोल दुवैलाई मिलाएर जान सुझाव दिइरहेका छन् । तर, निष्कर्ष निस्किएको छैन ।

आज सरकार र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच प्रदेश १ को नाम यही अधिवेशनबाट पारित गर्नेबारे सहमति भएको छ । तर, के नाम राख्ने टुंगो लागिसकेको छैन । एमालेका तर्फबाट नामाकरण सहजीकरण कार्यदलका संयोजक हिक्मतकुमार कार्की र सरकारले गठन गरेको समन्वय र वार्ता समितिका संयोजक जयराम यादवबीच सहमति बनेको हो ।

प्रदेशको नामाकरण गर्न दुई तिहाई प्रदेश सभाको सांसदको मत आवश्यक पर्छ । तर, कुनैपनि दलसँग बहुमत पनि छैन । एमालेको सभामुखसहित ४१, काँग्रेसको २१, माओवादीका १५, नेकपा एसका १०, जसपाका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १–१ गरी कुल ९२ सांसद छन् ।

एमाले र काँग्रेसले किराँत कोशी वा किराँत सगरमाथा राख्न जोड दिइरहेका छन् । माओवादीले किराँत मात्र राख्नुपर्नेमा जोड दिइरहेको छ ।

नेकपा एसले कुनै निर्णय लिएको छैन । जसपाले किराँत लिम्बुवान मधेश शेपालुङ प्रदेश राख्न प्रस्ताव गरेको थिो । लिम्बूवान राख्ने माग पनि छ । राप्रपाले कोशी या सगरमाथा राख्नुपर्नेमा जोड दिदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्