Logo

बिमला वलीलाई तत्काल मन्त्रीबाट हटाउन एमालेको माग



काठमाडौं, ३१ जेठ । नेकपा एमालेले लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीलाई तत्काल सरकारबाट हटाउन माग गरेको छ । वली महिलामाथि कुटपिटको अभियोगमा हिरासतमा पुगेपछि पदमा बसिरहने नैतिक आधार नरहेको भन्दै एमालेले हटाउन माग गरेको हो ।

एमाले प्रदेश सांसदहरुले तत्काल हटाउन माग गरेका छन् । उनीहरुले सरकारबाट वलीलाई फिर्ता नबोलाए प्रदेश सांसद चल्न नदिने चेतावनी दिएका छन् ।

घटनाको अनुसन्धानपछि बिमलालाई सरकारबाट फिर्ता बोलाउने तयारी भएको बुझिएको छ । यसका लागि प्रदेश प्रमुखले परामर्श थालेका छन् ।

वली सूर्य चिन्हबाट निर्वाचित प्रदेश सांसद हुन् । तर, उनले नेकपा विभाजन हुँदा माओवादी केन्द्र रोजिन् । उनी दुई दिनबीच पटक पटक पार्टी परिवर्तन गरेर विवादमा आएकी थिइन् । वली विरुद्ध मीना भण्डारीले किटानी जाहेरी दिएकी छिन् । जाहेरी दिएपछि उनीमाथि अनुसन्धान बढाइएको छ । अनुसन्धानका लागि वली प्रहरीको नियन्त्रणमै छिन् ।

वलीमाथि भण्डारीले अभद्र व्यवहार गरी लछारपछार र कुटपिट गरेको आरोप लगाएकी छिन् । उनले आफू र छोरीलाई समेत वलीले लछारपछार पारेको जाहेरीमा भनेकी छिन् ।

आज विहानै तुल्सीपुरस्थित प्रेमी एकराज बस्नेतको घरमा छिरेर वलीले उनकी पत्नी मीना भण्डारीमाथि आक्रमण गरेको विषय चर्चामा आएको थियो । घटनापछि स्थानीयले वलीलाई कोठामा थुनेर प्रहरी बोलाई जिम्मा लगाएका थिए । घटनाबारे अनुसन्धान गर्न प्रहरीले वलीको प्रेमी भनिएका एकराज बस्नेतको पनि खोजी सुरु गरेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्