Logo

उदण्ड राज्यमन्त्री वलीले जब ‘मेरो पोइ खै’भन्दै पिट्न थालिन् …



तुलसीपुर, असार १ । बिहानको साढे ८ बजेको थियो । लु१झ ५३७ नम्बरको सरकारी गाडी झन्डा हल्लाउँदै एकराज बस्नेतको घरमा पुग्यो । गाडीबाट झरिन् लुम्बिनी प्रदेशका स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली । स्थानीयले सोचे ‘मन्त्रीज्यू भेटघाटमा आउनु भो ।’

घरधनी एकराज बस्नेतकी श्रीमती मीना बस्नेतको अगाडि पुगेपछि मन्त्री वलीले अनपेक्षित प्रश्न गरिन्, ‘मेरो पोई खै ?’ मन्त्री वली त्यतिमै रोकिइनन् । उनले मीनालाई मुक्का प्रहार गरिन् । नजिकै रहेकी पाँच वर्षकी छोरी एन्जिलालाई पनि प्रहार गरिन् ।

राज्यमन्त्री वलीको प्रहारबाट मीनाको टाउको, शरीरका विभिन्न भागमा भित्री चोट छ भने कपडासमेत च्यातिएको छ । छोरी एन्जिलाको ओठ काटिएको छ । एकराजलाई पैसा दिएर कपडा किनिदिएको भन्दै राज्यमन्त्री वलीले ‘मैले किनिदिएको कपडा मै लैजान्छु,’ भन्दै दराज तोडफोड गरिन् ।

मिनालाई मुक्का प्रहार गरेपछि राज्यमन्त्री वलीले फेरि भनिन्, ‘मेरो एकराज खै छिटो देखा ।’ एकराज १५ दिनदेखि घरमा नभएको परिवारका सदस्यको भनाइ छ ।

बस्नेत माओवादी कार्यकर्ता हुन् । एक वर्षअघि बस्नेतले वलीलाई चुम्बन गरेको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको थियो । राज्यमन्त्री वलीले एकराज आफ्नो प्रेमी भएको दाबी गर्दै आएकी छन् ।

कुटपिट गर्ने मन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको छ । सुरक्षाको कारण देखाउँदै प्रहरीले तुलसीपुरबाट घोराही लगेको जनाएको छ । मन्त्री वलीलाई जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्ले नेतृत्वमा कडा सुरक्षाकाबीच जिल्ला प्रहरी कार्यालय घोराहीमा राखिएको छ ।

अनुसन्धानमा जुटेको प्रहरीले घटना फरक भएको आशंका गरेको छ । सोधपुछको प्रयास भइरहेको छ तर उनी त्यति बोल्न मानिरहेकी छैनन् । प्रहरी कार्यालय बाहिर उनको राजिनामाको माग गर्दे नारावाजी भईरहेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्