Logo

पाठ्यपुस्तक नै विवादित



काठमाडौं, असार १ । सरकारले छपाइ गरेको विद्यालयको पाठ्यपुस्तक धर्म प्रचारमा प्रयोग भएको भन्दै विवादमा परेको छ । पाठ्यपुस्तकमा क्रिस्चियन धर्मलाई बढी प्राथमिकता दिएर सरकारले अक्षर तथा तस्बिर प्रकाशन गरी वितरण गरेसँगै विवादित बनेको हो ।

शिक्षा मन्त्रालयअन्तर्गतको जनक शिक्षा सामग्री केन्द्रले छपाइ गरेको पुस्तकमा ई अक्षरको परिचय गराउने क्रममा ईसा भनेर राखिएको छ । त्यससँगै इसा भनेर क्रिस्चियन धर्म र संस्कृति झल्कने तस्बिर राखिएको छ ।

अघिल्ला वर्षका पाठ्यपुस्तकहरूमा ईबाट ईश्वर भनेर राखिने गरेको थियो । योपटक भने क्रिस्चियन धर्म झल्किने गरी अक्षर संकेत राखेपछि विवाद सिर्जना भएको हो । सडक, सदनदेखि सामाजिक सञ्जालमा पाठ्यपुस्तकको विषयमा विवाद भइरहेको छ ।

एमाले सांसद भिम रावलले संसद् बैठकमा नै पाठ्यपुस्तकबारे विरोध जनाए । ‘मैले पाठ्यक्रममा हेरें । मैले एउटा पत्रिकामा पढें । अचम्म लाग्यो । त्यहाँ एउटा पाठ्यपुस्तकमा के लेखेको रहेछ भने, ई भनेको ईसा, ईसाले हाम्रो कल्याण गर्नुहुन्छ,’ उनले भने, ‘धर्म निरपेक्ष भनेको होइन देश? मैले त बाल्यकालमा ई भनेको ईश्वर पढेको थिएँ । ल कसैलाई ईश्वर भन्न मन भएन, ई माने इमान किन लेख्नुभएन ?’

सामाजिक सञ्जालमा पनि यस विषयमा अहिले व्यापक आलोचना भएको पाइएको छ । सरकारले छपाइ गरेको पाठ्यपुस्तकको अंग्रेजी विषयमा पनि क्रिस्चियन धर्मको प्रचार हुनेगरी सामग्री राखिएको पाइएको छ । अंग्रेजी पाठ्यपुस्तकमा ब्लेस भनेर क्रिस्चियन धर्म र संस्कृति जनाउने तस्बिर राखिएको छ भने मास भनेर पनि क्रिस्चियन धर्म धर्म र संस्कृति झल्कने तस्बिर राखिएको पाइएको छ ।

पाठ्यपुस्तकमा ब्युटिफुल भनेर सुन्दर महिलाको तस्बिर राखिएको छ भने सँगै अग्ली भनेर अनुहारमा कालो लगाइएको परम्परागत हिन्दू संस्कृति झल्कने महिलाको तस्बिर राखिएको छ । त्यस तस्बिरलाई पनि अग्ली भनेर चिनाउन हिन्दू पहिरनमा सजिएकी महिलाको तस्बिर राखिएको भन्दै आलोचना भएको पाइएको छ ।

सदनदेखि सडकसम्म यस विषयमा आलोचना हुँदै आए पनि सरकारले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्