Logo

कोस्टारिका विश्वकपमा छनोट, खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक सावित



काठमाडौं, असार १ । कोस्टारिका कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल २०२२ मा छनोट भएको छ । अन्तर महादेशीय छनोटको प्ले अफ फाइनलमा मंगलबार राति कोस्टारिकाले न्युजिल्यान्डलाई १–० गोलले हराउदै विश्वकपमा छनौट भएको हो ।

कतारको दोहास्थित ऐमद बिन अली रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक सावित भएको छ ।

६९औं मिनेटमा कोस्टा बारबारौसेस रातो कार्ड पाउँदै बाहिरिएपछि न्युजिल्यान्ड १० खेलाडीमा समेटिएको थियो । कोस्टारिकाको जितसँगै विश्वकपमा सहभागि ३२ वटै टोलीको टुंगो लागेको छ ।

कोस्टारिका कतार विश्वकपमा छनोट हुने ३२औं राष्ट्र हो । कतार विश्वकपमा कोस्टारिकाले समूह ‘ई’ बाट स्पेन, जर्मनी र जापानसँग प्रतिस्पर्धा गर्नेछ । लगातार तेस्रो पटक विश्वकपमा स्थान बनाएको कोस्टारिका छैटौं पटक विश्वकपमा छनोट भएको हो ।

पहिलो पटक १९९० को विश्वकपमा छनोट भएको कोस्टारिकाले त्यसपछि सन् २००२, २००६, २०१४ र २०१८ मा विश्वकप खेलेको थियो । कोस्टारिका २०१४ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको थियो ।



प्रतिक्रिया दिनुहोस्