Logo

चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित



काठमाडौँ,१ असार । केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन ।

केही दिनदेखि पुनः चितुवाको त्रास बढेको छ । अहिले बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बन्दीपुर गाउँपालिकामा चार दिनको अवधिमा तीन पटक चितुवाको आक्रमण भएको छ । चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ भने एक बालिका र एक पुरुष घाइते भएका छन् ।

मङ्गलबार घरको आँगनमै खेलिरहेका बेला चितुवाको आक्रमणमा परेर बन्दीपुर–१ का पाँच वर्षीय सुप्रिम रिलामीको मृत्यु भएको छ । चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा दुई सय मिटरमाथि जङ्गलमा भेटिएको थियो ।

शनिबार बन्दीपुर–४ टावरमा चितुवाको आक्रमणमा परेर आठ वर्षीया रियाना थापा र आइतबार बन्दीपुर–१ मा ३५ वर्षीय भीमलाल गरञ्जा घाइते भएका थिए । चितुवाको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए । घरछेउमै चितुवाको आक्रमण हुन थालेपछि घरबाहिर निस्कन पनि डर हुन लागेको बन्दीपुर–४ का सन्तोष थापाले बताए ।

बन्दीपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष करुणा गुरुङले चितुवाको त्रास न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायबाट अल्पाकालीन र दीर्घकालीन समाधान खोजिनुपर्ने बताए ।

चितुवाको आक्रमण बढेपछि चितुवा नियन्त्रणका लागि खोर राखिए पनि खोरमा चितुवा पर्न सकेको छैन । डिभिजन वन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर–१ बाघदलेमा आइतबार फलामे खोर राखिएको थियो ।

सहायक वन अधिकृत काशिराज पण्डितले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरे । “चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाऔँ, झाडी सफा गरौँ, एक्लै नहिँडौँ,” उनले भने, “बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गराँै ।”

मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकारको अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको उनको भनाइ छ । “मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नेतर्फ सबै लाग्नुपर्छ,” उनले भने । डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।” चितुवाको आक्रमणबाट पाँच वर्षमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् । रासस



प्रतिक्रिया दिनुहोस्