Logo

राहुल गान्धीलाई सोधपुछ गर्न तेस्रो दिन पनि इडीले बोलाएपछि कार्यकर्ता प्रदर्शनमा उत्रिए



एजेन्सी, १ असार । नेशनल हेराल्ड मामिलामा सोधपुछका लागि राहुल गान्धी बुधबार लगातार तेस्रो दिन प्रवर्तन निर्देशनालय (ईडी) कार्यालय पुगेका छन्।

उनको सोधपुछको विरोधमा अहिले पनि पार्टीका नेता तथा कार्यकर्ता सडकमा उत्रिएका छन् । कैयौं महिला कार्यकर्ताको प्रहरीसँग झडप हुँदा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । सोही क्रममा कार्यकर्ताहरुले ईडीको कार्यालय बाहिर टायर बालेर आक्रोश पोखेका थिए ।

मंगलबार सोधपुछको दोस्रो दिन थियो । राहुल गान्धीसँग ईडी अधिकारीले पहिलो चरणमा ४ घण्टाभन्दा बढी समयसम्म सोधपुछ गरेका थिए । त्यसैगरी, खाजाको विश्रामपछि करिब ६ घण्टा प्रश्नोत्तर प्रक्रिया जारी रह्यो । लामो सोधपुछका सम्बन्धमा एजेन्सीले राहुलको बयान लिन अझै समय लागेको बताएको छ ।

राहुल गान्धी कारबाट अनुसन्धान एजेन्सीको कार्यालय पुगेका थिए । उनीसँगै बहिनी प्रियंका गान्धी पनि थिइन् । राहुललाई छोडेपछि प्रियंका त्यहाँबाट निस्किन् ।

मंगलबार राहुलसँग पैदल यात्रा गरिरहेका कांग्रेस नेता रणदीप सिंह सुरजेवालालाई प्रहरीले भ्यानमा तानेको थियो । ¥यालीमा सहभागी अन्य नेताहरुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सुरजेवालाले आन्दोलनका क्रममा आफूलाई चोट लागेको आरोप लगाएका छन् । पी चिदम्बरमलाई पनि करङमा चोट लागेको छ ।



प्रतिक्रिया दिनुहोस्