Logo

“बजेट चुनावमुखी पनि छैन, वितरणमुखी पनि होइन”



काठमाडौं, २ असार । सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री प्रकाश रावलले प्रदेश सरकारको बजेटलाई चुनावमुखी र वितरणमुखी भन्नु अतिरञ्जित प्रचार भएको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रावलले भने, “सरसर्ती हेर्दा चुनावमुखी र वितरणमुखी पनि देखिएला । तर यो बजार हल्ला मात्रै हो । समग्रमा बजेटले क्रमागत सडक सञ्जाल, विद्यालय व्यवस्थापन, भौतिक पूर्वाधार विकासजस्ता बहुवर्षीय योजनामा केन्द्रित भएको छ । कृषि, पर्यटन, शिक्षा, स्वास्थ्यमा जोड दिइएको छ । प्रदेश सरकार जनविश्वास जित्ने स्थितिमा छ ।”
संघीय सरकारबाट चारपाँच किसिमका विभिन्न अनुदान थप भएर आएकाले बजेटको आकार बढेको पनि उनको भनाइ छ । अर्थमन्त्री रावलले समयमै किसानलाई मल उपलब्ध नहुनुमा प्रदेश सरकारको हात नभएको पनि औंल्याए । उनले भने, “प्रदेश सरकारले संघीय सरकारबाट प्राप्त मल व्यवस्थापन गर्ने हो । सीमा नजिकको प्रदेश भएकाले यहाँका किसानले गुणस्तरबिनाका र महँगोमा मल किन्नुपर्ने अवस्था छ । किसानको मर्कामा हामी चिन्तित छौं ।”
यस वर्षको बजेट ६८ प्रतिशत कार्यान्वयन हुने विश्वास लिएको पनि उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस्