Logo

प्रदेश बजेटः काभ्रेमा चार योजना



काठमाडौँ,२ असार । बागममी प्रदेश सरकारले काभ्रेपलाञ्चोकमा चार योजनालाई प्राथमिकतामा राखेको छ । बुधबारको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले आर्थिक वर्ष २०७९÷८० का लागि प्रस्तुत गरेको बजेट वक्तव्यमा जिल्लालाई चार योजना समावेश गरिएकोे हो ।बजेटमा बीउ उत्पादनका लागि पकेट क्षेत्र स्थापना गर्न काभ्रेपलाञ्चोकसहित चितवन, मकवानपुर र धादिङका लागि रु पाँच करोड विनियोजन गरिएको छ । यस्तै छिमेकी सिन्धुपाल्चोक, रोमछाप र दोलखालाई लक्ष गरी काभ्रेपलाञ्चोकमा एम्बुलेन्स डिस्प्याच सेन्टर स्थापना गरिने भएको छ । यसका लागि भने बजेट परिमाण उल्लेख गरिएको छैन ।

प्रस्तुत बजेटमा संयुक्त योजनामा समावेश भएका अलावा मण्डनदेउपुर नगरमा शीतभण्डारसहितको कृषि बजार स्थापना गरिने उल्लेख गरिए पनि बजेट भने उल्लेख गरिएको छैन ।कृषि क्षेत्रलाई निर्वाहमुखी अवस्थाबाट आधुनिकीकरण, विशिष्टीकरण, यान्त्रिकीकरण, औद्योगीकरण र व्यवसायिकीकरण गरी रुपान्तरण गर्न कृषि तथा पशुपक्षीपालनमा संलग्न किसान, व्यवसायी र सहकारीलाई प्रोत्साहन र बजारको पहुँच सहजीकण गर्न जोड दिइएको प्रस्तुत बजेटमा उल्लेख छ ।

त्यस्तै दूध उत्पादनमा अग्रणी यस जिल्लामा ‘मिनी दुग्ध पाउडर प्लान्ट’ स्थापना गर्ने जनाइएको छ । यस योजनामा पनि बजेट उल्लेख गरिएको छैन । मन्त्री जम्कट्टेलले बुधबार आव २०७९÷८० का लागि रु ७० अर्ब ९३ करोड ९२ लाख बजेट सार्वजनिक गरेको हो । बजेट वक्तव्यमा उत्पादनमा आधारित कृषि अनुदानबाहेक सबै अनुदान खारेज गरिएको छ । प्रदेशअन्तर्गत १३ जिल्लामा ११९ स्थानीय तह छन् । रासस



प्रतिक्रिया दिनुहोस्