Logo

भक्तपुरका केशब अधिकारीको ठगी धन्दा, अर्बिट ईन्टरनेश्नल एजुकेशन प्रा.ली.को सेयर स्वामित्वबापत तीन करोड झ्वाम पारे तर स्वामित्व हस्तान्तरण नगरी अर्कैलाई बेचेपछि तामाङ बिचल्लीमा



काठमाडौं, २ असार । भक्तपुरको नगरकोट नगरपालिका वडा नम्बर ८ स्थायी घर भएका ७२ वर्षीया केशबप्रसाद अधिकारी पक्राउ परेसँगै उनका ठगी धन्दाहरु एकपछि अर्को गरेर सार्वजनिक हुन थालेका छन् । हाल अधिकारी सरकारी जग्गा किर्ते गरी ठगी गरेको आरोपमा प्रहरी हिरासतमा छन् । ‘सरकारी जग्गासमेत बैना गरी ठगी गरेको भन्दै काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले गत जेठ १३ (२०७९।०२।१३) गते अधिकारीको तस्विरसहित घट्ना विवरण सार्वजनिक गरेको थियो ।

उक्त घट्ना विवरणमा भनिएको छ,‘जिल्ला खोटाङ बुईपा ३ घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी न.पा १४ बस्ने धनिराम राई समेतको जाहेरीले जिल्ला भक्तपुर साविक बागेश्वरी गा.वि.स वडा नं. ५ हाल चाँगुनारायण न.पा वडा नं. ७ बस्ने बर्ष ७२ को केशव प्रसाद अधिकारी समेतले जिल्ला भक्तपुर साविक सुडाल गा.वि.स वडा नं. ४ क मा रहेको बिभिन्न कित्ता नम्बरहरु अर्कैको नाममा रहेको जग्गा सम्बन्धित जग्गा धनीसंग अनुमती नलिई अनुमती लिएको छौ भनी झुक्याई साथै कि.नं. ३९९ क्षेत्रफल (०–४–०–०) सरकारी जग्गा रहेको देखिन आएकोले सो जग्गा समेत बिक्री गर्न करारनामा गरी बैना बापत रु. ५,२०,००,०००।– (अक्षेरुपी पाँच करोड बिस लाख मात्र ) लिई ठगी गरेको भनी यस कार्यालयमा जाहेरी परेको हुँदा केशव प्रसाद अधिकारी समेतलाई यस काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७९।०२।१३ गते अ. १३:०० बजेको समयमा जिल्ला भक्तपुर भक्तपुर न.पा वडा नं.१० मालपोत गेटबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाईएको ।’

अधिकारीको गिरोह नै नेपालमा सरकारी किर्तेदेखि विभिन्न अपराध कर्ममा संलग्न भएको खुल्न थालेको छ । अधिकारीको गिरोह सरकारी जग्गा किर्ते, बैंकमा धितो लिलामी भएका जग्गा लिने र बास्तविक जग्गाधनीहरुको उठिबास पार्ने काममा सक्रिय रहँदै आएको छ । जग्गा कारोबारमा समेत सक्रिय अधिकारीले विभिन्न किर्ते गरेको र मुद्दा खेपेको पनि खुल्न आएको छ ।

हाल उनी नुवाकोट तार्केश्वर गाउँपालिका वडा नम्बर १ का श्री बहादुर तामाङलाई ठगी गरेको आरोपमा अर्को मुद्दा पनि खेपिरहेका छन् । अधिकारीले तामाङलाई काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा रहेको अर्बिट ईन्टरनेश्नल एजुकेशन प्रा.लि.को सेयर स्वामित्व हस्तान्तरण गर्ने भनि मञ्जुरीनामा दिईसकेको अवस्थामा पनि सेयर स्वामित्व हस्तान्तरण नगरी उल्टै ठगी गरेको आरोपमा प्रहरी हिरासतमा छन् । उनले तामाङबाट सेयर स्वामित्व हस्तान्तरणबापत नगद तीन करोड पचास लाख रुपैयाँ समेत बुझेका थिए । तर, तामाङले आफूले किनेको उक्त कम्पनीको सेयर स्वामित्व हस्तान्तरणको लागि पटक पटक ताकेता गर्दापनि अधिकारीले भने आलटाल गरेका थिए ।

पीडित तामाङले रिपोर्टर्स नेपाल डटकमसँग भने–‘मैले आफ्नो सेयर स्वामित्व पाउनको लागि अधिकारीजीसँग पटक पटक आग्रह गरेको थिएँ, तर उहाँले भने मलाई पटक पटक हुन्छ भन्नेमात्रै आश्वासन दिनुभयो, तर सेयर स्वामित्व भने हस्तान्तरण गर्नुभएन । उहाँले कानून व्यवसायीको उपस्थितिमा पनि मसँग सेयर स्वामित्व हस्तान्तरण र उक्त सेयर स्वामित्व मलाई बेचेवापतको रकम नगदमै बुझेको भनेर पनि कागज गर्नुभएको थियो । तर, यति हुँदाहुँदैपनि उहाँले भने ईमानदारिता देखाउनुभएन् । सेयर स्वामित्व हस्तान्तरणको विषय लिएर म उहाँको निजी निवासमा पनि पटक पटक पुगेको थिएँ । तर, उहाँले मलाई ठग्ने उद्देश्य राख्नुभएको रहेछ, उल्टै त्यो कम्पनी अर्कै व्यक्तिलाई बेचिसक्नुभएको कुरा थाहा भयो ।’

उनले अधिकारीले आफूलाई सेयर स्वामित्व हस्तान्तरण गनुृपर्ने कम्पनी अर्कैलाई बेचेको थाहा पाएपछि आफू कानूनी उपचारको लागि प्रहरीकहाँ पुगेको स्मरण गराए । आफूले दिएको जाहेरीका कारण अधिकारी पक्राउ परेको पनि पीडित तामाङले सुनाए । यो प्रकरणमा अहिले प्रहरी प्रशासनले पनि गम्भीर छानबिन गर्नुपर्ने र आगामी दिनमा अधिकारीजस्ता ठग व्यक्तिबाट कोहीपनि पीडित बन्न नपरोस भनेर आफुले मिडियाको सहयोगको अपेक्षा गरेको पनि सुनाए ।

‘अहिले लहरो तान्दा पहरो थर्किने’ भनेजस्तै अधिकारीको हकमा पनि अहिले एकपछि अर्को गरेर अपराध र ठगी कर्म बाहिर आउन थालेको तामाङको भनाई छ । उनले भने,‘समाजमा यस्ता अपराधीलाई हदैसम्मको कारबाही हुनुपर्छ, उनीहरु त संगठित र गिरोह नै बनाएर ठगी धन्दामा सक्रिय छन्, यस्तालाई राज्यले कुनैपनि हालतमा उन्मुक्ति दिनुहँदैन् । हदैसम्मको कानूनी कारबाही हुनुपर्छ । मैले न्याय पाउँछु भन्ने विश्वास लिएको छु ।’

 



प्रतिक्रिया दिनुहोस्