Logo

कालिगण्डकी कोरिडोर पर्वत खण्डको काम सम्पन्न, भुक्तानी नपाएको ठेकेदारको गुनासो



काठमाडौं, २ असार । कालिगण्डकी कोरिडोरको पर्वत खण्डको अर्मादी–फलेवास सडकखण्डको निर्माण कार्य सम्पन्न भएको छ । ०७२/७३ सालदेखि काम सुरु भएको उक्त कोरिडोरको भर्खरै मात्र काम सम्पन्न भएको ठेकेदार दीपक रैसवालले जानकारी दिए ।

निर्माण व्यवसायी तथा ठेकेदार रैसवालले सम्पुर्ण ट्रयाक खोल्ने काम सम्पन्न भईसक्दा पनि भुक्तानी नपाएको गुनासो गरे । रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै रैसवालले भने, ‘सम्पुर्ण ट्रयाक खोल्ने काम सम्पन्न भईसक्दा पनि मेजरमेन्ट पनि भएको छैन्, भुक्तानी पनि भएको छैन् ।’

कालिगण्डकी कोरिडोर पाल्पालाई पटक–पटक म्याद थपको फाइल पठाउँदा पनि म्याद थप हुन नसकेको उनले गुनासो पोखे । चाँडोभन्दा चाँडो म्याद थप गरेर भुक्तानी दिन उनले सम्बन्धित निकायसमक्ष आग्रह गरे ।

रैसवालले ०७२÷७३ सालबाटै काम सुरु गरेपनि विभिन्न समस्या आएका कारण काम सम्पन्न हुनुपर्ने समयमा हुन नसकेको बताए । गत ०७८ सालमा कामकै सिलसिलामा मोदी वेणीको भिरमाकमा एक्सावेटर दुर्घटना हुँदा चालकको मृत्यु, स्थानीयहरुको अवरोध, विजुलीका पोलहरु समयमै व्यवस्थापन नभएको र वर्षायामको कारण कामले सोचेजत्ति गति लिन नसकेको उनले स्वीकारे । अन्य समयमा निरन्तर काम गर्दै आएको समेत उनले दाबी गरे ।

व्यवसासी रैसवालले भौतिक तथा पुर्वाधार मन्त्रालयका सचिव रविन्द्र नाथ श्रेण्ठको रोहबरमा गत बैशाख २ गते आयोजना प्रमुख, इन्जिनियर र ठेकेदारबीच बैशाख महिनाभित्रै म्याद थप गरेर बैशाख भित्रै मेजरमेन्ट गरी भुक्तानी पनि गरिने मौखिक सहमति भएको बताए । तर, आजसम्म पनि सहमति कार्यान्यनमा नआउँदा आफु निकै अफ्ठ्यारोमा परेको गुनासो पोखे । उनको अनुसार १० करोड रुपैयाँको टेण्डर हो ।

इन्जिनियर पवित्रमणी आचार्यले समयमा काम सम्पन्न नगरेकोले भुक्तानी ढिलो भएको बताए । उनले भने,‘०७२/७३ सालमा भएको सम्झौता हो । विभिन्न कारण देखाउँदै काम निकै ढिलाई भइरहेको छ, काम अझैपनि सकिएको छैन्, अपग्रेडिङ भएको छैन् । असारसम्म उहाँलाई काम गर्न समय दिएका छौं ।’ हुनुपर्ने समयमा काम नभएपछि भुक्तानी पनि ढिलो भएको उनले प्रतिक्रिया दिए ।



प्रतिक्रिया दिनुहोस्