Logo

प्रधानमन्त्री देउवाले एसपीपी स्वीकार गर्दिनँ भन्नुपर्छ : भीम रावल (भिडिओसहित)



काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्विकार गर्नुपर्ने बताएका छन् । उनले एसपीपीप्रति असहमति जनाए। नेता रावलले नेपालले स्टेट पार्टनरसिप प्रोग्राम सम्झौता गरेमा शक्तिराष्ट्रको कठपुतली बन्ने पनि दाबी गरे ।

रिपोर्टर्स क्लब नेपालमा पुर्व सुरक्षाकर्मी परिषद् नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपालले एसपीपीमा सहभागी भए नेपालको भविष्य र सुरक्षाको खतरा हुने पनि टिप्पणी गरे ।

स्टेट पार्टनरसिप प्रोग्रामको दिशातर्फ गएमा नेपाल अमेरिकी सेनाको अखडा हुने उनको टिप्पणी छ । रावलले भने–‘नेपालको संविधान मिचिन्छ । नेपालको स्वतन्त्र परराष्ट्र नीति ध्वस्त हुन्छ । र, नेपाल ठुला शक्ति राष्ट्रको तिव्र प्रतिस्पर्धाको भुमरीमा धकेलिन्छ । नेपाली जनता ध्वस्त हुन्छन्, नेपालमाथि धेरै ठुलो संकट आइलाग्ने र यसको परिणाम नेपालको अस्मिता र अस्तित्वमाथि नै ठुलो खतरा उत्पन्न सिर्जना हुन्छ ।’ ।

नेता रावलले राष्ट्रको स्वाधिनता र स्वतन्त्रताको लागि, र नेपालको संविधान कार्यान्यवनको लागि राष्ट्रिय सहमति भएमात्रै राष्ट्रहित मान्न सकिने बताए । उनले हल्लाको बीचमा एमसीसी पारित गरेजस्तो गरेर फेरि एसपीपीमा सहभागी भएर नेपालमाथि आघात पुर्याउने छुट कसैलाई पनि नभएको उनको चेतावनी छ ।

‘अमेरिकी राजदुतावासले ३ वर्षअघि नै राज्य साझेदारी कार्यक्रम अर्थात स्टेट पार्टनरसिप प्रोगाममा नेपालले हस्ताक्षर गरिसकेको थियो, अब नेपालले कुनै सम्झौता नै गर्नपर्दैन, तिमी स्वतः सदस्य भयौ भनेर जबरजस्ती गर्ने भाषामा आएको छ ।’ अमेरिकी राजदुतावासलाई उद्धृत गर्दै उनले भने,‘म यहीँबाट प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई सुझाव दिन चाहन्छु कि उहाँले नेपाली जनतालाई संविधानको धारा ५१ अनुसार २७९ बमोजिम नेपालले अनुसरण गर्दै आएको स्वाधिन परराष्ट्र नीतिको अनुशरण गर्नेछु, अमेरिकाले भनेपनि म स्वीकार गर्दिनँ, म मान्दिनँ भनेर स्पष्ट भन्नुपर्छ ।’

परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टनरसिप प्रोग्राम नेपालको हितमा भएको र उक्त कार्यक्रम रणनीतिक नभएको भनेको स्मरण गराउँदै नेता रावलले आपत्ति जनाए । तर, नेपाली सेनाले दिएको स्पोष्टोक्तिबाट भने आफु खुशी भएको उनको भनाई छ ।

उनले स्टेट पार्टनरसिप प्रोग्राम अमेरिकाको हिन्द प्रशान्त रणनीति २०१९ को अंग भएको दाबी गरे । उनले यसबाट अमेरिकाले विभिन्न देशसँग सैनिक सम्बन्ध कायम गरेर सैनिक क्षमता बढाइने कुरा प्रष्ट रुपमा सम्झौतामा उल्लेख गरेको दाबी गरे ।

अमेरिकीलाई आफ्नो देशको माया लागेजस्तै नेपालको माया नेपालीलाई भएको उनले सुनाए । तत्कालिन नेकपाको स्थायी कमिटिको बैठकमा ३ वर्ष अघि नै एसपीपीको सदस्य भएकोबारे चलेको हल्लामा बास्तविकता के हो भनेर पार्टीमा प्रश्न उठाउने आफु पहिलो व्यक्ति भएकोसमेत उनले स्मरण गराए । अमेरिकाको राजदुतावासले भनेझंै आफ्नो पालामा केही नभएको उनले स्पोष्टोक्ति दिए ।

उनले सरकारले मुल एमसीसी सम्झौता त संसदमा १ प्रतिशत मात्र पेश गरेको भन्दै गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले होहल्लाको बीचमा जबरजस्ती छलफल गर्न नदिएर संसदबाट सम्झौता अनुमोदन गरेको आरोप लगाए ।

प्रधानमन्त्री देउवाले नाटक मञ्चन गर्दै १२ बुंदे व्याख्यात्मक घोषणाको बारेमा अमेरिकासँग कुरा गरेको भनी झुक्काएको पनि आरोप लगाए । व्याख्यात्मक घोषणालाई अमेरिकाले मानेको पत्र संसदमा राख्न आफुले माग गरेको तर अझैसम्म प्रधानमन्त्रीले उक्त पत्र दिन नसकेको उनको गुनासो छ ।

देशमाथिको बाहय्र हस्तक्षेप सहेर बस्ने व्यक्ति सच्चा नेपाली नहुने उनको भनाई छ । पुर्व सुरक्षाकर्मी परिषद् नेपालका सदस्यहरुले देशका लागि धेरै योगदान दिएको स्मरण गराउँदै एक पटकका सेना, एक पटकका सुरक्षाकर्मीहरु सधैंको सेना हुने पनि सुनाए ।

इतिहासविद प्रा.डा.प्रेमसिंह बस्न्यातले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)बारे नेपाली जनतालाई भ्रममा नराखी वास्तविकता बाहिर ल्याउनु सरकारको प्रमुख दायित्व रहेको बताएका छन् ।

बस्न्यातले एसपीपीमा नेपाल कुनैपनि हालतमा सहभागी हुन नहुनेमा जोड दिए । उक्त कार्यक्रममा नेपाल सहभागी भए देशको अस्तित्वमाथि नै संकट आईपर्ने उनको टिप्पणी छ । एमसीसीको भन्दा अहिले परिस्थिति फरक रहेको भन्दै उनले राष्ट्रघाती एसपीपी संझौताको बिरुद्धमा एकजुट हुन सर्वसाधारण, पुर्व सुरक्षाकर्मीहरु, सबै एकजुट भएर नेपाली भूमिबाट बुट बजार्न दिन नहुने तर्क गरे । नेपाली धर्तीको माटो बचाउनुपर्ने अवस्था आएको उनले सुनाए ।

एमसीसी राष्ट्रघात हो भन्दै आफुहरुले रोक्न खोज्दाखोज्दै पनि पारित गरिएको भन्दै उनले आक्रोश पोखे । अहिले नेपाली जनताले ठुला राजनीतिक दलका भ्रष्ट नेताहरुलाई नेता मानेकै कारण नेपालीहरुले दुःख पाएको सुनाउँदै उनले भने,‘स्टेट पार्टनरसीप पोग्रामलाई परराष्ट्रमन्त्रीले राष्ट्र हितमा छ भनेपनि नेपाली सेनाले नमान्ने भनेर दिएको सुचनाले जनता झन् शशंकित भएका छन् ।’ उनले देशका लागि आवश्यक परे भुतपुर्व सैनिकहरु जे गर्न पनि तयार रहेको चेतावनी दिए ।

अध्यक्ष कोमल रावलले परिषदले जारी गरेको प्रेष विज्ञप्ती वाचन गरेर सुनाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्