Logo

एसपीपीमा अस्तिसम्म देउवा र ओलीलाई बेस्कन गाली गर्‍यौं, अक्षम्य अपराध नेपाली सेनाबाटै भएको रहेछः डा. प्रेमसिंह बस्न्यात



काठमाडौं, ३ असार । पूर्व जर्नेल डा. प्रेमसिंह बस्न्यातले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाली सेनाले अक्षम्य गल्ती गरेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्व जर्नेल डा. बस्न्यातले भने, “नेपाली सेनाको अघिल्लो दिनको विज्ञप्ति पढ्दा म विश्वस्त थिएँ । दोस्रो विज्ञप्तिले गर्दाखेरि मेरो हालत ‘बोल बोल मछडी मुखभरि पानी’ भनेजस्तो भएको छ । अस्तिसम्म मैले शेरबहादुर देउवा र केपी ओलीजीलाई गाली गरेँ । तर ‘ब्लन्डर’ नेपाली सेनाबाटै भएको रहेछ । यसमा सेना नै जिम्मेवार देखियो । उसले सरकारलाई एसपीपीको गुन र बैगुन जाहेर गरेको देखिएन ।”

उनले नेपाली सेनाको इमान, जमान र विश्वसनीयतामै प्रश्न उठ्ने स्थिति आएको पनि औंल्याए । डा. बस्न्यातले भने, “म नेपाली सेनाको पेन्सनर हुँ । पाँचसात जना सेनापतिसँग काम गरेँ । पहिलो विज्ञप्तिमा नेपाली सेनाले एसपीपीमा गएको होइन भन्यो, दोस्रोमा हो भन्यो । सैनिक इतिहासमै होइन र हो भन्ने अवस्था पहिलो पटक आयो । सेनामा एस वा नो हुन्छ, ग्रे एरिया हुन्न । ब्ल्याक एन्ड ह्वाइटमै भन्नुपर्छ । हिजोसम्म मैले नेताको विरोध गरें, आज सेनाको विरुद्धमा र्याली गरौं ? यसले नेपाली सेनाको इमान, जमान र विश्वसनीयतामा प्रश्न उठेको छ । सेनापति व्यक्ति होइन संस्था हो । त्यसमा उनले पक्कै पनि रक्षा मन्त्रालयले स्वीकृति लिएको हुनुपर्छ । यसमा नेपाल सरकार भाग्न पाउँदैन ।”
उनले तत्कालीन प्रधान सेनापतिले अक्षम्य अपराध गरेको आरोप पनि लगाए । उनले भने, “कोही रिसाउला खुसाउला, मलाई मतलब छैन । यो अक्षम्य अपराध हो । सेनाले भूकम्पको उद्धारका लागि अमेरिकालाई पत्र लेखेको भनेको छ । यस्तो हावादारी कुरा गरेर हुँदैन । भूकम्पको उद्धार गौरवशमशेर राणाको पालामा भएको थियो । राजेन्द्र क्षेत्रीको पालामा पुनःनिर्माण मात्र भएको हो । त्यो पत्रका कारण हामी तल परेका छौं । अमेरिकाले झूटो बोल्दैन । ढाँटेको पनि मन पराउँदैन ।”
अब नेपाली सेना एसपीपीबाट फर्कनुको विकल्प नभएको पनि डा. बस्न्यातले औंल्याए । उनले भने, “त्यसमा पक्कै पनि केपी ओलीजीको स्वीकृति दिएको हुनपर्छ । त्यसमा मौखिकले काम चल्दैन, लिखित रुपमै दिएको हुनपर्छ । त्यसकारण त्यसमा रक्षा मन्त्रालय वा मन्त्रिपरिषद्को निर्णय हुनुपर्छ । देशमा राजा भएको भए यस्तो बेथिति गर्न सक्थे ? राष्ट्रपतिले माखो मारेको देखिएन । राज्यमन्त्री स्तरको सुरक्षा सल्लाहकार छन् । तिनले के गरे ? अमेरिकाले बकाइदा एसपीपी चाहिँदैन भने पत्र लेख भनेको छ । त्यसैले एपीपीबाट फर्कनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्