Logo

“केपी ओली आफैं संलग्न भएको भए एसपीपीको मुद्दा किन चर्काउनुहुन्थ्यो र ?”



काठमाडौं, ३ असार । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) प्रकरणको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने औंल्याएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, एसपीपी सम्झौता केपी ओलीको पालामा भएको पुष्टि गर्न त्यतिबेलाका रक्षामन्त्री ईश्वर पोखरेलले संसदमै चुनौती दिनुभएको छ । हामीले एसपीपीबारे कुनै पत्राचार गरेका होइनौं, स्थगित गरेका हौं भन्नुभएको छ । केपी ओली आफैं गम्भीर भएर यो मुद्दा उठाइरहनुभएको छ । उहाँले एसपीपी देशको हित प्रतिकूल छ भनेर केस्रा केस्रा केलाएर पार्टीमा दुई घन्टामा बहस गर्नुभयो । एसपीपीमा आफैं संलग्न भएको भए यो मुद्दा चर्काउनुहुन्थ्यो होला ? कसैसँग प्रमाण छ भने संसद्मा प्रस्तुत गरे भइहाल्यो नि । त्यसमा अध्ययन होला, बहस होला, छानबिन होला । हल्लाका भरमा बकवास नगरौं । जसले मुद्दा कुरा उठाइरहेको छ, उसैतिर फर्काइदिन त मिल्दैन नि । सत्यतथ्य छानबिन गरौं, दोषीलाई कारबाही गरौं ।
एसपीपीमा ओलीको संलग्नता नभएको तर भएको रहेछ भने गल्ती स्वीकार गर्नुपर्ने पनि उनले बताए । रायमाझीले भने, एमसीसी ऊर्जा र सडकका लागि हो । तर एसपीपी निकै खतरानाक रहेछ । यो राष्ट्रको हितविपरीत छ । मलाई लाग्छ, ओलीले गल्ती गर्नुभएको छैन । उहाँ त्यत्रो गर्जिरहनुभएको छ । गल्ती गर्नुभएको रहेछ भने स्वीकार गर्नुहोला ।
सन् २०१५ अक्टोबर २७ मा अमेरिकालाई पत्र पठाएका बेला आफू उपप्रधान एवं ऊर्जामन्त्री भए पनि आफूलाई कुनै जानकारी नभएको उनले बताए । रायमाझीले थपे, सरकारमा बस्दैमा मलाई सबै कुरा थाहा हुँदैन । तर एसपीपीबारे मन्त्रिपरिषद्को कुनै पनि बैठकमा प्रस्ताव आएको छैन । सेनापतिले भित्रभित्रै गरेको भए मलाई कसरी थाहा हुन्छ ? सरकारलाई जानकारी नगराईकन कसैले त्यस्तो काम गर्न मिल्दैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot