Logo

मतदाता नामावली सङ्कलन



काठमाडौँ,३ असार । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर राखेर बैतडीमा फोटोसहितको मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु भएको छ ।

नामावली सङ्कलन र अद्यावधिक कार्य जिल्लाको तीन स्थानबाट सुरु भएको जिलला निर्वाचन कार्यालयका प्रमुख माधव फुयाँलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय पुर्चौंडी हाटबाट फोटोसहित मतदाता नामावली सङ्कलन कार्य सुरु भएको हो । उनले भने“यी तीन स्थानमा बुधबारदेखि दर्ता कर्मचारी खटाएर धमाधम काम सुरु भएको छ । नागरिकता बनाएर यसअघि नामावलीमा नाम दर्ता नगराएकाले नामा दर्ता गराउन सक्नेछन् ।”

फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका नागरिकले सक्नेछन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता १६ वर्षमा हुने भए पनि मताधिकारका लागि १८ वर्ष पूरा भएको हुनुपर्दछ । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्नका लागि नेपाली नागरिकताको प्रमाणपत्र, विवाहित महिलाको हकमा विवाह दर्ताको प्रमाण पत्र, बसाइँसराइ गरेर आएकाको हकमा बसाइँसराइको प्रमाणपत्र आवश्यक पर्ने जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । यस्तै जिल्ला बाहिरका नागरिकले पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने जनाइएको छ ।

मतदाता नामावली सङ्कलनको क्रममा नामावलीमा रहेको त्रुटि सच्याउन र संशोधन गर्न पनि सकिनेछ । मतदाता नामावली विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न तथा दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

यही असार १ गतेदेखि सुरु भएको फोटो मतदाता नामावली निर्वाचनको मिति घोषणा नहुँदासम्म जारी रहनेछ । जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर तर्कराज जोशीका अनुसार हालसम्म १०३ जनाको फोटोसहितको नामावलीमा नाम दर्ता भइसकेको छ । यसअघि गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म बैतडीमा एक लाख ४८ हजार ६०६ मतदाता थिए । रासस



प्रतिक्रिया दिनुहोस्