Logo

डा. लोचनको प्रस्तावमा ‘मेडिकल म्युजियम’ बनाउन पर्यटनमन्त्री श्रेष्ठले ५० लाख दिलाए



काठमाडौं, ३ असार । बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले चिकित्सा संग्रहालय ‘मेडिकल म्युजियम’ बनाउन ५० लाख विनियोजन गरेका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको प्रस्तावमा ‘मेडिकल म्युजियम’ बनाउन पर्यटनमन्त्री श्रेष्ठले ५० लाख छुट्याएका हुन् । पर्यटनलाई स्वास्थ्यसँग जोडेर बजेट ल्याउन सफल बागमती प्रदेश सरकारका पर्यटनमन्त्री श्रेष्ठले नेपाल चिकित्सक संघले प्रस्ताव गरेको महत्त्वपूर्ण एनएमए–मेडिकल म्युजियम बनाउन ५० लाखको योगदान पु¥याएका हुन् ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९/८० को बजेटमा स्वास्थ्य पर्यटन पूर्वाधार निर्माण (चिकित्सा संग्रहालय)का लागि ५० लाख विनियोजन गरेको हो । चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीको प्रस्तावमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ चिकित्सा संग्रहालयको पूर्वाधार निर्माणमा उक्त रकम विनियोजन गरेका हुन् ।

नेपाल चिकित्सक संघलाई चिकित्सा संग्रहालय (मेडिकल म्युजियम) बनाउन बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले आवश्यक पर्ने बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका थिए । संघका अध्यक्ष डा. लोचन कार्कीको मेडिकल म्युजियम बनाउने प्रस्तावमा पर्यटनमन्त्री श्रेष्ठले समर्थन जनाउँदै त्यसका लागि आवश्यक पर्ने बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । पर्यटनमन्त्री श्रेष्ठले पूर्व प्रतिबद्धता अनुसारनै आर्थिक वर्ष २०७९/०८० सालको बजेटमा ‘मेडिकल म्युजियम’को पूर्वाधार तयार पार्न आवश्यक पर्ने बजेट विनियोजन गरिदिएका हुन् ।

नेपालमा पहिलोपटक ऐतिहासिक ‘मेडिकल म्युजियम’ बनाउने अध्यक्ष कार्कीको प्रस्तावमा उत्साहित भएका संस्कृतिमन्त्री श्रेष्ठले यसका लागि आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउँदै आएका छन् । प्रदर्शनी मार्गस्थित नेपाल चिकित्सक संघका केन्द्रीय कार्यालयमा एनएमए मेडिकल म्युजियम स्थापना गर्न लागिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्कीले जानकारी दिए ।

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा प्रयोगमा ल्याइएका विभिन्न ऐतिहासिक पुराना मेडिकल उपकरण तथा अन्य चिकित्सा क्षेत्रसँग सम्बन्धित सामग्रीहरूको संकलन गरी चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका क्षेत्रमा एक नवीनतम चिकित्सा संग्रहालयको स्थापना गर्ने प्रमुख उद्देश्य राखी नेपाल चिकित्सक संघले एनएमए मेडिकल म्युजियम स्थापना गर्न लागेको अध्यक्ष डा. कार्कीले बताए । मेडिकल म्युजियमले नेपालमा मेडिकल टुरिजम फस्टाउने मन्त्री श्रेष्ठको विश्वास छ ।

नेपालमा मेडिकल टुरिजमको सम्भाव्यताको विषयमा निरन्तर छलफल गरिरहेका पर्यटनमन्त्री श्रेष्ठ नेपाल चिकित्सक संघले स्थापना गर्न खोजेको मेडिकल म्युजियमलाई त्यसको एउटा कडीको रुपमा लिन्छन् । मेडिकल म्युजियम बने नेपाल मेडिकल दुरिजमको प्रवर्द्धन हुने उनको बुझाइ छ ।

नेपाल चिकित्सक संघले संघसंस्था, अस्पताल वा व्यक्तिगत तवरबाट प्राप्त ऐतिहासिक मेडिकल उपकरण तथा चिकित्सा सेवामा प्रयोग भइसकेका सामग्रीहरु संकलन गरेर मेडिकल म्युजियममा राख्ने जनाएको छ । त्यस्ता सामग्री रहेको जानकारी दिए चिकित्सक संघबाटै संकलन गरी उक्त सामग्रीहरू उपलब्ध गराउने संघले संघसंस्था, अस्पताल वा व्यक्तिको नाम र ठेगाना संग्रहालयमा राखी सुरक्षित तवरले प्रदर्शन गरिने संघका अध्यक्ष डा. कार्कीले जनाए ।

संघसंस्था, अस्पताल वा व्यक्तिगत घरमा उपलब्ध भएका ऐतिहासिक सामग्रीहरू, प्रमाण पत्र, पुस्तक र अमूल्य मेडिकलसँग सम्बन्धित उपकरणहरूलगायत अन्य सामग्रीहरू नेपाल चिकित्सक संघलाई यथाशीघ्र उपलब्ध गराइदिन पनि संघका अध्यक्ष डा. कार्कीले अनुरोध गरेका छन् ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ चिकित्सा संग्रहालय निर्माणका लागि ५० लाख छुट्याएसँगै नेपाल चिकित्सक संघको एनएमए–मेडिकल म्युजियम बनाउने सपना साकार हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस्