Logo

कसरी कमाए चार मन्त्रीका पिए बनेका सुब्बाले चार वर्षमै ६ करोड?



काठमाडौं, असार ४। सरकारी सेवामा तलब सुविधा न्यून रहेको गुनासो भइरहँदा एक सरकारी कार्यालयका नायब सुब्वा तहका कर्मचारीले भने चार वर्षभित्रै ६ करोडभन्दा बढी रुपैयाँ अकूत रूपमा कमाएको पाइएको छ ।

यसरी ६ करोड बढी आर्जन गर्ने व्यक्ति हुन् स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान कलवलगुडी झापाका तत्कालीन वरिष्ठ व्यवस्थापन सहायक (नायब सुब्बा) स्तरका कर्मचारी भीमकान्त भण्डारी ।

भण्डारीले कमाएको ६ करोड रुपैयाँको स्रोत खुलाउन नसक्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारको अनुसन्धानअनुसार भण्डारीले २१ असोज २०७३ सालदेखि २०७८ साल पुस मसान्तसम्म ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ अकुत सम्पत्ति कमाएको पाइएको छ । भण्डारीले विभिन्न उपायअपनाएर अकुत सम्पति आर्जन गरेका थिए ।

चार वर्षको सरकारी जागिरको समयमा उनी माओवादी केन्द्रबाट विभिन्न समयमा मन्त्री भएका वर्षमान पुन, कृष्णबहादुर महरा, आशा कोइराला र हितराज पाण्डेको स्वकीय सचिवका रूपमा काम गरेका थिए ।

वरिष्ठ व्यवस्थापन सहायक पदबाट भण्डारी २१ असोज २०७३ सालमा राजपत्र अंकित प्रथम श्रेणीअन्तर्गत सार्वजनिक सेवामा प्रवेश गरेका थिए । उनले २०७७ साउनमा स्वैच्छिक अवकाश लिएका थिए । भण्डारी चार वर्ष मात्रै निजामती सेवामा रहँदा उनले ६ करोड बढी अकूत सम्पति आर्जन गर्न सफल भएका हुन् ।

उनको सम्पत्ति छानबिनमा स्रोत नखुलेको सम्पत्ति ६ करोड २४ लाख ४ हजार ६ रुपैयाँ देखिएपछि सो रकम भ्रष्टाचार गरेको ठहर गर्दै गैरकानुनी सम्पत्ति जफत गर्न मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्