Logo

बनेन रेल्वेस्टेसन, बन्यो ‘हब’



पर्वत, असार ४ । तत्कालीन नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चार वर्षअघि पर्वतको कुस्मामा रेल्वेस्टेसन बन्ने सपना बाँडे ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा वाम गठबन्धनका तर्फबाट आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले पोखराबाट म्याग्दीसम्म रेल चल्ने र बेनीसम्म रेलमा जाँदा कुस्मा रेल्वेस्टेसन भइछाड्ने दृढता व्यक्त गरेका थिए ।२०७४ कात्तिक ३० गतेको उक्त भाषण गर्दै गर्दा स्थानीय बासिन्दाले ताली बजाए ।

वाम गठबन्धनको झन्डै दुई तिहाइ ल्याएर उनी प्रधानमन्त्री पनि बने तर कुस्मामा रेल्वेस्टेसन बनेन, न त पोखरा–बेनी रेल नै चल्यो । तर, कुस्मा अहिले साहसिक पर्यटनका लागि देशकै मुख्य आकर्षणको केन्द्र भने बनेको छ । पर्वत आन्तरिक तथा बाह्य पर्यटकका लागि साहसिक पर्यटनको आकर्षणको केन्द्र त बन्दैछ, यो राजनीतिक तनाव कम गर्ने गन्तव्य पनि बनेको छ ।

प्रतिनिधि सभाको बैठकमा २०७८ फागुन १२ गते अमेरिकी अनुदान सम्झौता एमसीसी अनुमोदनका लागि अर्थमन्त्री जनार्दन शर्माले टेबुल गर्ने कार्यक्रम थियो । तर राजनीतिक सहमति नबनेको र नेकपा (माओवादी केन्द्र) मा नै यसबारे द्वन्द्व रहेका कारण कार्यसूची रहेको भए पनि उनी पत्नीसहित झोलुङ्गे रेस्टुरेन्टमा रमाए।त्यसयता कुस्माको साहसिक पर्यटन पूर्वाधारको अरू प्रचार भएको छ ।

खासमा मोदी र कालीगण्डकीको खोँचका कारण छिमेकी गाउँबाट सदरमुकाम कुस्मा आउन जानसमेत समस्या हुने ठाउँमा विसं २०६४ मा नेपालकै अग्लो÷लामो पुलको निर्माण भएको थियो । त्यसपछि पुल अवलोकन गर्न आउने पर्यटक केही बढेका थिए ।

पछिल्लो समय अन्य साहसिक खेलका पूर्वाधार तयार भएपछि त पर्वत त्यसको हब’ नै बनेको हो । अहिले पर्वतमा नेपालकै नमुना आधा दर्जन अग्ला पुल, बन्जीजम्प साथै जिपलाइन र अन्य थुप्रै साहसिक पर्यटनका संरचना निर्माण भएका छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्