Logo

रौतहटको क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सांसदमा लड्ने युवा नेता आलमको घोषणा



काठमाडौं, असार ४ । नेकपा (एकिकृत समाजवादी) का युवा नेता शेख सदरे आलमले रौतहटको क्षेत्र नम्बर २ ‘क’ बाट प्रदेश सांसदमा उम्मेदवारी दिने घोषणा गरेको छन् । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे आलमले उम्मेदवारीको घोषणा गरेका हुन् । जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ७ स्थायी घर भएका मुस्लिम तथा युवा नेता आलम विगत १० बर्षदेखि राजनितिमा सक्रिय रहदै आएका छन् ।

जनताको सुख, दुःखमा साथ दिदै आएका आलमले पार्टीले प्रदेश सांसदको टिकट उपलब्ध गराए जनतालाई विकासको अनुभुति दिलाउने गरी काम गर्ने विश्वास दिलाएका छन् । कोरोना महामारीका बेला जनताका पीडा, मर्का र समस्याहरु समाधानमार्फत जनताको मन–मनमा बस्न सफल भएको जनाउदै उनले जिम्मेवारी पाए आफ्नो क्षेत्रमा हुने गरेका भष्टाचार न्यूनिकरण तथा विकासका कामहरुमा विशेष जोड दिने बताएका छन् ।

सामान्य रोगको उपचार गर्न हाल भारत जानुपर्ने बाध्यतालाई हटाउन स्थानीय तहमै विशेष स्वास्थ्य सेवाको उपलब्धता गराउनेसमेत उनको दाबी रहेको छ । विपन्न, गरिव तथा असाहय नागरिकले आफ्नै क्षेत्रमा सुविधा सम्पन्न अस्पतालमा स्वास्थ सेवा पाउन अस्पतालको निर्माण गर्ने उनको योजना रहेको छ । त्यस्तै, ढल तथा सुक्षित आवासको लागी काम गर्नेसमेत  उनले बताए ।

गरिव तथा मुस्लिम समुदायलाई आर्थिक उन्नतीतर्फ लैजान आफुले उम्मेदवारी घोषणा गरेको उनको भनाई छ । त्यस्तै, फोहोर प्रशोधन केन्द्रको निर्माण, रोजगारीमा खटिने मजदुर लक्षित कार्यक्रम, विपन्न समुदायको पहिचान गर्दै न्यून आय भएका प्रतिपरिवारलाई आर्थिक सहुलियत, विद्यालयको पक्की भवन, किसान कार्डमार्फत वास्तविक किसानलाई सहुलियत उपलब्ध गराउनेसमेत आलमले प्रण गरेका छन् ।

त्यस्तै, भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी, नातावाद र कृपावादको अन्त्य गर्न संयन्त्र बनाउने, युवालाई देशमै गरिखाने वातावरण बनाउन कृषि, उद्यम र व्यापारमा प्रोत्साहन गर्ने उनको योजना छ । ज्येष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, गर्भवतीलाई घरदैलोमै निःशुल्क स्वास्थ्य परीक्षण गर्ने, सडक, विजुली लगायतका क्षेत्रमा दिगो विकास गर्न आफुले उम्मेदवारी घोषणा गरेको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्