Logo

प्रधानन्यायाधीशमाथिको महाभियोगलाई चालू संसदमै तार्किक निष्कर्षमा पुर्‍याउन नेपाल बारले दबाब दिने



काठमाडौं, ५ असार । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोगलाई अलपत्र पार्नु नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बार अध्यक्ष घिमिरेले भने, “प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुपर्छ भन्ने पनि नेपाल बार नै हो । त्यसलाई अलपत्र पार्न पाइँदैन । हामी न्यायपालिका प्रमुखमाथि लगाइएको महाभियोग प्रस्तावलाई चालू संसदमै राखेर छलफल गर्नुपर्छ भन्ने पक्षमा छौं । त्यसलाई छिटोभन्दा छिटो तार्किक निष्कर्षमा पुर्याउन हामी दबाब दिन्छौं । यसलाई राजनीतिक दलहरुले सुन्नुपर्छ । हामी सभामुखलाई भेटेर महाभियोग प्रस्ताव बढाउन भन्छौं ।”
न्यायिक सुधारका लागि नेपाल बारका ९० वटा बार एकाईका अध्यक्षको भेलाले पनि महाभियोगबारे निर्णय गर्ने घिमिरेले बताए । उनले भने, “हाम्रो भेलाको प्रमुख उद्देश्य न्यायालयभित्रका विकृति र विसंगति अन्त्य गरी न्यायिक सुधार गर्नु हो । त्यसका लागि नेपाल बारले सदैव खबरदारी गरिरहन्छ । किनभने नेपाल बार २२ हजार कानुन व्यवसायीको साझा संस्था हो । नेपाली जनताले विश्वास गर्ने न्यायालय बनाउनका लागि हामी लड्छौं । यसलाई कसैले मजाकको विषय बनाउनु हुँदैन ।”
न्यायाधीश नियुक्तिमा योग्य कानुन व्यवसायीको समान पहुँच हुने गरी कानुन बन्नुपर्ने पनि उनले औंल्याए । घिमिरेले भने, “न्यायपरिषद्को न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा हाम्रो असहमति छ । योग्य कानुन व्यवसायी सबैले प्रवेश गर्न पाउनुपर्छ भन्ने हाम्रो माग हो ।”

 



प्रतिक्रिया दिनुहोस्

Screenshot