Logo

प्रधानमन्त्रीको भ्रमणमा संसदीय समितिले चासो राख्नु अपराध होइनः पवित्रा निरौला



काठमाडौं, ६ असार । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौलाले प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह, पूर्वाग्रहका आधारमा नबोलाएको बताएकी छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सभापति निरौलाले भनिन्, “केही माननीयले प्रधानमन्त्रीलाई समितिमा पूर्वाग्रही भई बोलाएको आरोप लगाउनुभएको छ, त्यो गलत मानसिकताको उपज हो । समितिको बैठकमा बोलाउँदा प्रधानमन्त्री आउनुपर्छ । आउन नहुने कुरा केही छैन । त्यसैले गलत कुराको पछि लाग्नु आवश्यक छैन । समितिले कसैप्रति कुनै आग्रह, पूर्वाग्रह राख्दैन ।”
केपी शर्मा ओली चार वर्ष प्रधानमन्त्री हुँदा एक पटक पनि नबोलाउने देउवालाई चाहिँ बोलाउने भन्ने पत्रकार धमलाको प्रश्नमा उनले थपिन्, केपी शर्मा ओलीलाई बोलाउन कसले भनेको थियो ? बोलाउनुपर्ने के विषयवस्तु थियो ? ओलीले जति देशको भ्रमण गर्नुभयो, “त्यो राष्ट्रिय इस्यु बनेको थिएन । सभापतिले इस्यु खोजेर बोलाउने होइन । एसपीपी इन्डो प्यासिफिक स्ट्राटेजीको हिस्सा भएको कुरा आएको छ, नेपालमा अमेरिकी सेना आउने कुरा उठिरहेको छ । माननीयहरुले कुरा उठाएपछि सभापतिले रोक्ने कुरा थिएन । मैले चाहेर मात्र प्रधानमन्त्रीसँग छलफल गर्ने पनि होइन । यो जनताको पनि कुरा हो । प्रधानमन्त्रीको भ्रमणमा चासो राख्नु अपराध होइन ।”

तपाईं केपी शर्मा ओलीबाट सञ्चालित भएको आरोप छ नि भन्ने अर्को प्रश्नमा उनले भनिन्, “आफ्नो नेतालाई सम्मान गर्नु एउटा कुरा हो । म कसैको इशारामा काम गर्दिनँ । दबाब र प्रभावमा काम गर्दिनँ । समितिमा हामी २५ जना माननीय छौं । छलफलमा विभिन्न कुरा उठ्न सक्छन् । तर निर्णय समितिको छलफलबाट हुने हो ।”
प्रधानमन्त्री अब समितिमा आउनुहुन्छ त भन्ने धमलाको प्रश्नमा सभापति निरौलाले भनिन्, “अब असार ९ वा १० गतेसम्म बैठक राख्छौं । प्रधानमन्त्रीसँग मेरो कुरा भएको छैन, पीएसँग कुरा भएको छ । उहाँ कहिले आउनुहुन्छ, के के बोल्नुहुन्छ, म अन्तर्यामी होइन । तर उहाँले समितिलाई स्पष्ट पार्नुहुन्छ ।”



प्रतिक्रिया दिनुहोस्