Logo

के प्रधानमन्त्री देउवा संसद् विघटन गर्ने तयारीमा छन्



काठमाडौं, ६ असार । मन्त्रिपरिषद हेरफेरको विषयले सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । खासगरी माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने र नयाँ मन्त्रीहरुको नाम सिफारिश गरेसँगै गठबन्धनमा आवद्ध अन्य दलले पनि मन्त्रीहरु हेरफेरको लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाब दिएका छन् ।

तर, प्रधानमन्त्री देउवा भने तत्काल मन्त्रीहरु हेरफेर गर्न तयार छैनन् । एकीकृत समाजवादीका मन्त्रीहरुले प्रधानमन्त्री देउवालाई भेटेरै पार्टीको निर्णय कार्यान्वयन नगर्न सुझाएका थिए । उनीहरुले संसदीय दलमा आफूहरु बहुमतमा रहेकोले जस्तोसुकै कदम चाल्नपनि पछि नहट्ने चूनौति दिएका छन् ।

पछिल्लो समय प्रधानमन्त्री देउवा संसद् विघटन गर्नेगरि तयारीमा जुटेको चर्चा छ । मन्त्रीहरु हेरफेर गर्दा सत्ता संकटमा पर्ने भन्दै देउवाले संसद् विघटन गरेर आफू नेतृत्वको सरकारलाई चुनावी सरकारमा रुपान्तरण गर्नेगरि छलफल थालेको बालुवाटारनिकट स्रोतको दाबी छ ।

यो बीचमा प्रधानमन्त्री देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग पनि यस विषयमा छलफल गरेको बताईएको छ । सत्ता गठबन्धनमा हिजोबाट संघीय संसद्को निर्वाचनको लागि सिट बाँडफाँटबारे छलफल प्रारम्भ भएको छ । प्रधानमन्त्री देउवाले आगामी कार्तिक अन्तिम साता वा मंसिरको पहिलो हप्ताभित्रै प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्री देउवाले अमेरिकाको एसपीपीबारे नेपालमा विवाद चुलिएको भन्दै सर्वदलीय बैठक बोलाएर छलफल गर्ने पनि तयारी गरेका छन् । सर्वदलीय बैठकमा एसपीपीको अलावा संसद्को निर्वाचनबारे पनि छलफल हुने बताईएको छ । प्रधानमन्त्री देउवाले आफूनिकट पार्टीका नेताहरुलाई जुनसुकै बेला संसद् विघटन हुनसक्ने संकेत गरेका छन् ।

सत्ता संकटको एकमात्र समाधान संसद् विघटन नै भएको भन्दै देउवाले परामर्श थालिरहेको बेला प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले पनि यस्तो खुलासा गरेका छन् । ऋषि धमलासँगको हालैको अन्तर्वार्तामा नेता बस्नेतले सत्ता गठबन्धनले तत्कालै संसद् विघटन गर्नेगरि तयारी गरेको खुलासा गरेका थिए ।

देउवाले संसद् विघटन गर्लान् वा नगर्लान् ? त्यो त आउने दिनमा प्रष्टै हुन्छ । एकीकृत समाजवादी र माओवादी केन्द्रका नेताहरु नै अहिलेको गठबन्धन तोडेर संसद्को निर्वाचनमा एमालेसहितको वाम गठबन्धनको पक्षमा वकालत गर्न थालेपछि प्रधानमन्त्री देउवा झस्किएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot