Logo

५ देखि ११ वर्षभित्रका बालबालिकालाई असार ९ कोरोनाविरुद्ध खोप



काठमाडौं, असार ६ । नेपालमा पहिलोपटक ११ वर्षमुनिका बालबालिकालाई दिन मिल्ने कोभिड १९ विरुद्धको खोप आइतबार नेपाल आइपुगेको छ। अमेरिकावाट आइतबार विहान अमेरिकी सहयोगमा जम्मा २२ लाख ३ हजार २ सय डोज खोप नेपाल आइपुगेको हो। फाइजर खोप ९ वायोएन्टेकको खोप पेडियाट्रिक नेपाल आइपुगेको हो।

खोपको लागि आवश्यक २ लाख २० हजार ८ सय भायल घोलक दुई दिनअघि आइपुगिसकेको आपूर्ति महाशाखा खोप भण्डारण शाखाका प्रमुख सुरेन्द्र चौरासियाले बताए। नेपालले कोरोनाविरुद्धको खोपमा उल्लेख्य प्रगति गरेको भन्दै कोभ्याक्स फ्यासिलिटीले नेपाललाई खोप उपलब्ध गराएको खोप शाखाका प्रमुख सागर दाहालले बताए।

अमेरिकी सरकारले कोभ्याक्स फ्यासिलिटीअन्तर्गत निःशुल्क खोप उपलब्ध गराएको हो। कोभ्याक्सले खोप दिनुअघि नेपाल सरकारले बालबालिकाको लागि कोभिड १९ विरुद्धको खोप खरिद गर्ने तयारीमा थियो।

अमेरिकाबाट आइपुगेको खोप आइतबार नै सातै प्रदेशमा पठाइसकेको खोप भण्डारण शाखाले जनाएको छ। प्राप्त खोप सरकारले पहिलो चरणमा २७ जिल्लाका बालबालिकामा खोप अभियान सञ्चालन गर्ने परिवार कल्याण महाशाखा शाखाले जनाएको छ। शाखाका अनुसार पहिलो चरणमा २७ जिल्लाका १९ हजार ४० जना बालबालिकालाई असार ९ देखि १५ गतेसम्म दिइनेछ। पहिलो मात्रा लगाएकालाई साउनको २ देखि ८ सम्म लगाइनेछ।

बाँकी रहेका बालबालिकालाई भदौमा खोप अभियान सञ्चालन गरिने र सो अभियानको लागि पनि अमेरिकाबाट निःशुल्क खोप आउनेछ ।



प्रतिक्रिया दिनुहोस्