Logo

भृकुटीमण्डपको २६ रोपनी सस्तोमा भाडा लगाउन चलखेल



काठमाडौं, असार ६ । महिला तथा बालबालिका मन्त्रालय अन्तर्गतको समाजकल्याण परिषद मातहत रहेको भृकुटीमण्डपस्थित सरकारी जग्गा सस्तो भाडामा दिनेगरी सम्झौता गर्न लागिएको छ। २६ रोपनी जग्गा पाँच वर्षका लागि अमात्य इन्टरनेसनललाई १२ करोड रुपैयाँमा भाडामा दिन सम्झौता गर्न लागिएको हो।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तोकेको दररेटभन्दा निकै सस्तोमा टेन्डर आह्वान गरिएका कारण कम रुपैयाँमा सम्झौता हुने अवस्था आएको हो। यसका साथै टेन्डर कसलाई दिने भन्ने विषयमा प्रक्रियामा नै मिलेमतोको आशंका छ।

भृकुटीमण्डपको जग्गा सस्तोमा भाडामा दिइएको भन्दै यसअघि उजुरी परेपछि तीन वर्षअघि अख्तियारले कम्तीमा प्रतिरोपनी मासिक ७८ हजार रुपैयाँ हुनुपर्ने भनी भाडादर तोकेको थियो। तर अहिले परिषद् उपाध्यक्ष मोनिका भट्टराई अधिकारीको संयोजकत्वको भाडा निर्धारण समितिले प्रतिरोपनी मासिक ३२ हजार रुपैयाँ निर्धारण गरी त्यसैअनुसार टेन्डर आह्वान गरियो।

विगतमा भृकुटीमण्डपमा खेल सञ्चालन गराइसकेका हरिगोपाल अमात्यको अमात्य इन्टरनेसनलले पाँच वर्षका लागि २६ रोपनी जग्गाको कुल १२ करोड ५ लाख ३३ हजार ३ सय ४७ रुपैयाँ तिर्ने गरी टेन्डर हालेको छ। अमात्य इन्टरनेसनलले हालेको टेन्डरअनुसार प्रतिरोपनी मासिक ७७ हजार रुपैयाँभन्दा बढी तिर्नुपर्ने देखिन्छ।

सरसर्ती हेर्दा अख्तियारले तोेकेको भाडादर र अहिले अमात्य इन्टरनेसनलले हालेको टेन्डरको दररेट उस्तैजस्तो देखिए पनि मिलेमतोमा टेन्डर आह्वान भएको देखिन्छ। पहिलो, तीन वर्षपछि दररेटमा परिवर्तन हुनुपर्ने हो त्यो भएन। दोस्रो, टेन्डर आह्वान गर्दा प्रतिरोपनी मासिक कम्तीमा ७८ हजार रुपैयाँ तोकिनुपर्नेमा ३२ हजार रुपैयाँमात्रै तोकियो, जसमा गलत नियत देखियो।

फेरि यसरी कम दररेटको टेन्डर आह्वान गरी बढाबढमा जसरी अमात्य इन्टरनेसनललाई दिने तयारी गरिएको छ, यसले मिलेमतोमा टेन्डर गरिएको आशंका गर्न सकिन्छ। टेन्डर आह्वान गर्दा प्रतिरोपनी मासिक न्यूनतम ७८ हजार रुपैयाँ तोकिएको भए त्यसैअनुरूप टेन्डर पर्ने मात्र होइन, महँगो दरमा भाडा सम्झौता हुने सम्भावना रहन्थ्यो।

अहिले अमात्य इन्टरनेसनलले हालेको टेन्डर रकममध्ये त्यसैमा सम्झौता गर्ने कि १३ प्रतिशत भ्याट रकम घटाएर सम्झौता गर्ने भन्नेमा निर्णय भइसकेको छैन।

‘सम्झौतामा १२ करोड कि १० करोड भन्ने विवाद चलिरहेको छ। कर्मचारीलाई १२ करोडमा भ्याट घटाएर सम्झौता गर्न दबाब छ,’ परिषद् स्रोतले भन्यो। अहिले भाडामा दिन प्रक्रिया अघि बढाइएको २६ रोपनी जग्गामा विगतमा ल्यामपुच बाल उद्यान सञ्चालनमा थियो। ल्यामपुच बाल उद्यानको सम्झौता सकिएपछि अर्कैलाई भाडामा दिन थालिएको हो।

भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख रामराज भट्टराईले जग्गा भाडामा दिन अमात्य इन्टरनेसनलसँग सम्झौताको तयारी भइरहेको बताएको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्