Logo

जंगली च्याउ खाँदा एकै परिवारका तीनको मृत्यु



ओखलढुंगा, असार ६। ओखलढुंगामा विषालु च्याउको तरकारी खाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। जिल्लाको चम्पादेवी–७ फूलबारीकी २४ वर्षीया ढककुमारी लामिछाने, उनका श्रीमान् राजन विष्ट र हजुरआमा हजुरआमा मनमाया विष्टको मृत्यु भएको हो।

ढककुमारीले गत जेठ २८ मा जंगल जाँदा गोबरमा उम्रेको च्याउ टिपेर ल्याई तरकारी पकाएकी थिइन्। त्यो दिन सासू सीता विष्ट उपचारका लागि काठमाडौं गएकाले घरमा ९३ वर्षीय हजुरआमा मनमाया, २७ वर्षीय श्रीमान् राजन र ढककुमारीले त्यो तरकारी खाए। तीन वर्षीया छोरी करिश्माले भने तरकारी खाइनन्।

तरकारी खाएलगत्तै उनीहरूलाई बिस्तारै पेट पोलेको महसुस भयो । सानी छोरी करिश्मा पनि त्यही बिरामी भइन्। सामान्य समस्या होला भनेर उनीहरूले घरेलु औषधि उपचार गरे। अप्ठ्यारो बढेको तीन दिनपछि छिमेकीले उनीहरूलाई ओखलढुंगा सामुदायिक अस्पताल मिसन पुर्‍याए।

गत मंगलबार मिसन अस्पतालमा उपचारकै क्रममा ढककुमारीको मृत्यु भयो । हजुरआमा मनमाया, श्रीमान् राजन र छोरी करिश्मा विष्टलाई थप उपचारका लागि सेनाको हेलिकोप्टर व्यवस्था गरी शिक्षण अस्पताल काठमाडौं पठाइयो । मनमायाको सोही दिन शिक्षण अस्पतालमै मृत्यु भयो भने राजनको मृत्यु उपचारका क्रममा गत बिहीबार भयो। करिश्माको स्वास्थ्यमा भने सुधार आएको छ।



प्रतिक्रिया दिनुहोस्